आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट लेखन समिति गठन

१६ फाल्गुन २०८१, शुक्रबार १०:४४

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल चयन भएका छन्।

समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल सदस्यका रूपमा रहेका छन्। संयोजक नेपालका अनुसार उक्त समिति बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने, मन्त्रालयगत आयोजनाहरूको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, बजेट वक्तव्यको मस्यौदा तयार पार्ने तथा नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने जिम्मेवारीमा रहनेछ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयअनुसार प्राप्त बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ। आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनअनुसार आगामी आर्थिक वर्षको बजेट सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन फागुन १५ गतेभित्र पठाउने व्यवस्था छ।

त्यस्तै, अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई उपलब्ध गराएको छ भने समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोगलाई प्रदान गरिएको छ। सशर्त अनुदान सम्बन्धित विषयगत मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरिएको छ।

राष्ट्रिय गौरवका आयोजनाहरू तथा मुख्य प्राथमिकताका परियोजनाहरूका लागि बजेट एयरमार्क गरी पठाइएको छ। बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलाप प्रस्ताव गर्नुपर्ने प्रावधान उल्लेख गरिएको छ। साथै, नयाँ आयोजना प्रस्ताव गर्दा लागत अनुमान तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*