एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन

काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमित किस्ता तिर्ने सदस्यलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको छ। संस्थाको सुदूरपश्चिम प्रदेशअन्तर्गत मोतिचोक कैलाली शाखाका केन्द्र नं. ०१६ की सदस्य लक्ष्मी देवी विश्वकर्माले लिएको कर्जा समयमा नै चुक्ता गरेबापत प्रोत्साहनस्वरूप रकम प्रदान गरिएको हो ।
संस्थाको लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं भन्ने उद्देश्यअनुरूप सदस्य विश्वकर्माले २०८१ मंसिर २७ गते लिएको कर्जा फागुन १६ गते पूर्ण रूपमा चुक्ता गरेकि थिइन्। प्रति हजार रुपैयाँ १५ दरका हिसाबले कर्जा रकम १० हजार रुपैयाँ रहेकाले उनलाई १५० रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको हो।
उक्त रकम केन्द्र प्रमुख कोमल देवी बिकले टीका लगाई इन्द्रकला कुमारी बोहरामार्फत हस्तान्तरण गरेकी थिइन् । यस अवसरमा लघुवित्त संस्थाले सदस्य विश्वकर्मालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अन्य सदस्यहरूलाई पनि यस्तै प्रोत्साहन प्राप्त गर्ने गरी वित्तीय अनुशासन कायम राख्न आग्रह गरेको छ।
एनआईसी एशिया लघुवित्तले जिम्मेवार वित्तीय व्यवहारलाई प्रवर्द्धन गर्दै सदस्यहरूलाई नियमित किस्ता भुक्तानीका लागि उत्प्रेरित गर्ने कार्यक्रम ल्याइरहेको छ। यस प्रकारको प्रोत्साहनले वित्तीय अनुशासन कायम राख्न तथा कर्जा सदुपयोग गर्न थप टेवा पुग्ने संस्थाले विश्वास लिएको छ।












