चौँरीपालनबाट समृद्धिः वार्षिक २० लाखभन्दा बढी आम्दानी

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का पासाङ तामाङ चौँरीपालन व्यवसायबाटै वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले सन् २०१४ (२०७१ साल) मा ‘पोम्पोला च्यावाचेत चौँरी फर्म’ दर्ता गरी व्यवसायिक रूपमा चौँरीपालन सुरु गरेका थिए । सुरुवातमा १२ वटा चौँरीबाट थालेको उनको गोठमा अहिले ५७ भन्दा बढी चौँरी छन् ।
पढाइलेखाइ धेरै नगरेका पासाङ तामाङले वैदेशिक रोजगारीमा पनि आफ्नो भविष्य देखेनन् । विदेशमा काम गरेर पनि सन्तोषजनक आम्दानी नहुँदा उनले स्वदेश फर्कने निर्णय गरे । बाबुबाजेले गर्दै आएको चौँरीपालनलाई आधुनिक रूपमा अगाडि बढाउने सोच बनाएर उनले मिहिनेत सुरु गरे । अहिले उनले चौँरीपालनलाई आयआर्जनको मुख्य स्रोत बनाएका छन्।
चौँरीपालन व्यवसाय सस्तो छैन । एउटा चौँरीको बच्चा किन्न मात्र पनि ६० हजार रुपैयाँ खर्च गर्नुपर्छ । गत वर्ष लम्पी स्किन रोगका कारण १९ चौँरी गुमाउँदा उनले २१ लाख रुपैयाँ बराबरको घाटा बेहोर्नुपर्यो । यद्यपि उनले हार मानेनन् । निरन्तर परिश्रम गर्दै अहिले ५७ चौँरीबाट दैनिक ९५ लिटर दूध उत्पादन गरिरहेका छन् ।
पासाङ तामाङले उत्पादन गरेको दूध ६ महिनासम्म दुग्ध विकास संस्थान (डिडिसी) मा आपूर्ति गर्छन् । बाँकी ३ महिनामा उनी आफैं छुर्पी र घिउ उत्पादन गर्छन् । यसबाट उनले राम्रो आम्दानी गरिरहेका छन् ।
आम्दानीको केही हिस्सा पासाङले सहकारीमा बचत गर्ने गरेका छन् । दुई वर्षदेखि उनले मासिक रूपमा बचत गरिरहेका छन्, जुन उनले हालसम्म निकालेका छैनन् । सहकारी प्रणालीमा विश्वास राख्दै उनी भन्छन्, ‘आफ्नै गाउँघरका मानिसहरूले चलाएको सहकारी भएकाले म विश्वस्त छु। सबै मान्छे खराब हुँदैनन्।’
चौँरीपालनलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना पासाङको छ। उनले चौँरीको संख्या थप गर्ने, दूधको उत्पादन बढाउने र स्थानीयस्तरमै दूधजन्य परिकार बनाउने योजना बनाइरहेका छन्।













