स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

१८ फाल्गुन २०८१, आईतवार ०६:३२

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज फागुन १८ गतेदेखि आवेदन दिन सकिने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

एफपीओ निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गतेसम्म खुला रहने भनिएको छ। यद्यपि अहिलेको अवस्थामा लगानीकर्ताले आईपीओ तथा एफपीओमा देखाएको चासो र परिरहेको आवेदन समेतलाई हेर्दा फागुन २१ गतेभित्रै पर्याप्त आवेदन पर्ने निश्चित जस्तै छ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

हाल यस कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। फागुन १५ गते बिहीबार यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९एलटीपी० १ हजार २७ रुपैयाँमा कायम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*