समाज र ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रियामा: वित्तीय सूचकमा ठूलो अन्तर, को कति बलियो ?

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा अघि बढेका छन् । यी दुई संस्थाबीच फागुन १७ गते प्रारम्भिक मर्जर सम्झौता भएको हो । मर्जरपछि कुन स्वाप अनुपातमा दुई संस्था गाभिने भन्नेबारे भने खुलाइएको छैन ।
मर्जर सम्झौतासँगै समाज लघुवित्त, जसको प्रधान कार्यालय मलंगवामा रहेको छ, र ग्रामीण विकास लघुवित्त, जसको प्रधान कार्यालय बुटवलमा छ, एकीकृत वित्तीय संस्था बन्ने तयारीमा छन् । दुबै संस्थाले ग्रामीण क्षेत्रका ग्राहकलाई वित्तीय सेवा पु¥याउँदै आएका छन् । मर्जरपछि संस्थाको वित्तीय क्षमता बढ्ने र शाखा सञ्जाल विस्तार हुने अपेक्षा गरिएको छ ।
यद्यपि, यी दुई कम्पनीको शेयर मूल्यमा ठूलो अन्तर देखिएको छ । हाल समाज लघुवित्तको प्रति सेयर मूल्य ३२०० रुपैयाँभन्दा माथि रहेको छ भने ग्रामीण विकास लघुवित्तको मूल्य साढे ९०० रुपैयाँ मात्र छ । शेयर मूल्यमा २००० रुपैयाँ भन्दा बढीको अन्तर रहँदा स्वाप अनुपात निर्धारणमा चुनौती उत्पन्न हुन सक्ने आँकलन गरिएको छ ।
हाल मर्जर प्रक्रियालाई अन्तिम रूप दिन थप नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र मर्जर कार्यान्वयन हुनेछ । शेयरधनीहरूले मर्जर प्रक्रियाले आफ्नो लगानीमा कस्तो प्रभाव पार्ने भन्नेबारे चासो व्यक्त गरिरहेका छन् ।
वित्तीय चित्र हेर्दा
कम्पनीहरुको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमासको वित्तीय विवरणले दुई संस्थाबीच ठूलो भिन्नता देखाएको छ । ग्रामीण विकास लघुवित्तले नाफा र वित्तीय सूचकहरूमा राम्रो प्रगति गरिरहेको देखिन्छ भने समाज लघुवित्त भने कमजोर अवस्थामा छ ।
समाज लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ९९.७४ प्रतिशतले कमी आएको हो । गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी, ग्रामीण विकास लघुवित्तले यस अवधिमा १८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको १७ करोड २ लाख रुपैयाँको तुलनामा ८.६० प्रतिशत वृद्धि हो ।
समाज लघुवित्तको खुद ब्याज आम्दानी ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, ग्रामीण विकास लघुवित्तको खुद ब्याज आम्दानी भने २२.४१ प्रतिशतले बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४८ करोड ९२ लाख रुपैयाँ थियो ।
तालिका (रकम हजारमा)

समाज लघुवित्तको सञ्चालन घाटा गत वर्षको २ करोड ३० लाख रुपैयाँबाट घटेर ९५ लाख ३१ हजार रुपैयाँ पुगेको छ, जुन घाटा कम भएको संकेत हो ।तर, ग्रामीण विकास लघुवित्तको सञ्चालन नाफा भने १९.१० प्रतिशतले घटेर कमजोर देखिएको छ ।
समाज लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ मात्र रहेको छ भने जगेडा कोष २ करोड ७८ लाख रुपैयाँ छ । ग्रामीण विकास लघुवित्त भने ठूला वित्तीय सूचकहरूमा बलियो देखिन्छ । यसको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
समाज लघुवित्तको प्रति सेयर आम्दानी –०.०५ रुपैयाँ अर्थात घाटामा छ । यता, ग्रामीण विकास लघुवित्तको १८.८२ रुपैयाँ रहेको छ, जुन गत वर्षको १७.३३ रुपैयाँभन्दा बढी हो ।
त्यस्तै, समाज लघुवित्तको प्रति सेयर नेटवर्थ २२२.०२ रुपैयाँ रहेको छ भने ग्रामीण विकास लघुवित्तको २७६.१८ रुपैयाँ रहेको छ ।
समाज लघुवित्त वित्तीय सूचकहरूमा निकै कमजोर देखिएको छ । खुद नाफा, ब्याज आम्दानी, तथा इपीएस जस्ता प्रमुख सूचकहरू नकारात्मक देखिएको छ । ग्रामीण विकास लघुवित्त भने नाफा, ब्याज आम्दानी, र इपीएसमा सकारात्मक देखिन्छ ।













