नेपाल-कोरिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत तुम्बाहाङ्फे प्रतिबद्ध

१८ फाल्गुन २०८१, आईतवार १६:२६

काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएकी छिन्। उनले नेपालका हितलाई केन्द्रमा राखी आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र कोरियाली लगानीकर्तालाई नेपालमा आकर्षित गर्न विशेष पहल गर्ने उल्लेख गरिन्।

शनिबार सियोलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको कार्यक्रममा उनले नेपाल–कोरिया कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भइसकेको स्मरण गराउँदै उच्चस्तरीय भ्रमण तथा आपसी सहकार्य आवश्यक रहेको बताइन्।

कोरियामा कार्यरत नेपाली श्रमिकहरूले दुई देशबीचको जनस्तरको सम्बन्धलाई सशक्त बनाउन भूमिका खेलेको बताउँदै उनले नेपाली कामदारको योगदानले कोरियाली अर्थतन्त्रलाई पनि मजबुत बनाएको उल्लेख गरिन्।

दूतावासको सेवा सहज र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उनले कोरियामा रहेका नेपालीहरूले बिना कुनै झमेला दूतावासका सेवा उपयोग गर्न सक्ने वातावरण तयार गरिने आश्वासन दिइन्। साथै, कोरियास्थित गैरआवासीय नेपाली संघमा देखिएको विवाद समाधानका लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रवासी नेपाली समुदायलाई थप नजिकबाट सम्बोधन गर्न दूतावास सक्रिय रहने बताउँदै उनले वैधानिक माध्यमबाट रेमिटेन्स प्रवाहलाई प्रवर्द्धन गर्न पहल गरिने उल्लेख गरिन्। कार्यक्रममा श्रम काउन्सुलर मैया कँडेलले कोरियामा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र कल्याणका लागि दूतावासले निरन्तर सहयोग गर्ने जानकारी गराइन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, कोरियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा राजदूतबीच अन्तरक्रिया भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*