१०० रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री

१८ फाल्गुन २०८१, आईतवार १७:५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कोष स्थिर र दिगो बनाउन मोबाइल रिचार्जबाट योगदान संकलन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

आइतबार झापाको बुद्धशान्तिमा रहेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा उनले नागरिकले सर्वाधिक प्रयोग गर्ने सेवामार्फत बीमा कोषलाई सबल बनाउन सकिने उल्लेख गरे। उनका अनुसार, एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था मिलाउनु उपयुक्त हुनेछ।

स्वास्थ्य बीमाको बजेट अपर्याप्त रहेको बताउँदै उनले चालु आर्थिक वर्षमा बीमाका लागि मात्र साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। तर, अघिल्लो वर्षको बाँकी दायित्व ११ अर्ब रुपैयाँ रहेकोले बजेट अभाव गम्भीर समस्या बन्ने उनले उल्लेख गरे। यदि बीमालाई चलाउन अहिलेको सीमित बजेट पर्याप्त नहुने हो भने, सरकारले आगामी बजेटमा ४० अर्ब रुपैयाँ छुट्याउनुपर्ने अवस्था आउने उनको तर्क छ।

मन्त्री पौडेलले वर्तमान प्रणालीलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट स्वास्थ्य बीमा सञ्चालन गर्नु आवश्यक रहेको बताए। उनका अनुसार, संघ, प्रदेश, र स्थानीय तहले स्वास्थ्य सुविधाका नाममा वार्षिक झन्डै ३१ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्। उनले यस रकमलाई विभिन्न शीर्षकमा छुट्याएर खर्च गर्ने भन्दा सोझै स्वास्थ्य बीमा कोषमा राख्दा व्यवस्थापन सहज हुने धारणा राखे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*