नेपालमा एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी भित्रियो, ५०० किलोमिटर रेन्ज, मूल्य कति ?

१९ फाल्गुन २०८१, सोमबार २२:४४

काठमाडौँ । एलएस अटोले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्र्याएको छ। विश्वकै ठूलो अटो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो नयाँ ऊर्जा सवारी साधन निर्माण गर्ने कम्पनी हो, जसले २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गरिरहेको छ।

एलएस अटोले चीनको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार गाडी उत्पादन गर्ने क्षमतासहितको कारखाना स्थापना गरिसकेको छ। युरोपेली बजारलाई लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाइरहेको यस कम्पनीको उपस्थिती नेपाल, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तानसहित ११ देशमा विस्तार भइसकेको छ।

नेपालमा एलएस अटोको आधिकारिक वितरकको जिम्मेवारी नेक्सन भेन्चरले लिएको छ। सोहीअनुसार कम्पनीले एलईभी ०१ मोडेल स्ट्यान्डर्ड (SE) र कम्फर्ट (CE) गरी दुई भेरियन्टमा ल्याएको छ। स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ।

एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने क्षमता राख्छ। यो इभी ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरसहित आएको छ, जसले ३०० न्यूटन मिटर टर्क उत्पन्न गर्छ। नेपालका सडकलाई ध्यानमा राख्दै गाडीमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ भने ब्याट्री प्याक बडीको साइडभन्दा माथि राखिएको छ, जसको ग्राउन्ड क्लियरेन्स २२१ एमएम रहेको छ।

एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको यस इलेक्ट्रिक एसयूभीमा ब्याट्री अन्य गाडीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिँदैन। अन्तर्राष्ट्रिय समीक्षाअनुसार यसको ब्याट्री प्रविधि एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी दक्ष रहेको छ।

एलईभी ०१ को डिजाइन अति नै एरोडाइनामिक छ, जसको ड्रयाग कोएफिसियेन्ट ०.२६८ मात्र रहेको छ। सुरक्षा पक्षलाई बलियो बनाउन गाडीले युरो एनक्यापबाट ५-स्टार रेटिङ प्राप्त गरिसकेको छ। गाडीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता आधुनिक सुरक्षा विशेषताहरू रहेका छन्।

गाडीको इन्टेरियरमा लग्जरी डिजाइन प्रदान गरिएको छ, जसमा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, पछाडि सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, ३६० डिग्री क्यामेरा, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट तथा मल्टी ड्राइभ मोडजस्ता सुविधा दिइएको छ।

एलएस अटोले आगामी वर्षभित्र एलईभी ०३ र एलईभी ०५ गरी थप दुई मोडेल सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यी गाडीहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुवै अप्सनमा उपलब्ध हुनेछन्।

नेपालमा एलएस अटोको गाडी बिक्री तथा सेवा प्रवर्द्धनलाई तीव्र बनाउन कम्पनीले देशभर चार्जिङ स्टेशन विस्तार गर्ने योजना बनाएको छ। काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास नजिक शोरूम सञ्चालनमा आइसकेको छ भने आगामी साता ललितपुरको बालकुमारीमा अर्को शोरूम खोल्न लागेको छ। साथै, काठमाडौंको मनमैजुमा सर्भिस सेन्टरसमेत स्थापना भइसकेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको अवस्थामा एलएस अटोको एलईभी ०१ उपभोक्ताहरूका लागि प्रतिस्पर्धी विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*