घट्यो पुँजी बजारः १३ वटै उपसूचक राताम्य हुँदा १३ अर्बको कारोबार, करेक्सन की गिरावट ?

२० फाल्गुन २०८१, मंगलवार १५:०५

काठमाडौँ । लगातार नौ दिनसम्म उकालो लागेको शेयर बजार पछिल्ला दुई दिनमा भने केही घटेको छ । छोटो समयमै मूल्य बढेपछि नाफा सुरक्षित गर्न खोज्ने ट्रेडरहरुको संख्यामा वृद्धि देखिएको छ, जसले बजारलाई हल्का दबाब दिएको हो ।

बजार विश्लेषकहरुका अनुसार मूल्य बढेसँगै छोटो अवधिको करेक्सन हुनु स्वाभाविक हो, जसले आगामी दिनमा बजारलाई अझ मजबुत बनाउन मद्दत गर्नेछ । हाल बजारको समग्र परिदृश्य सकारात्मक देखिएको छ । उच्च तथा मध्यम पूँजीकरण भएका कम्पनीहरुको सेयर मूल्य बढ्नुका साथै दैनिक कारोबार रकम उल्लेखनीय रुपमा वृद्धि भएको छ, जुन बुल रनको संकेत मानिन्छ ।

बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहनु, ब्याजदर न्यून बिन्दुमा रहनु र संस्थागत लगानीकर्ताहरुको बजारप्रतिको आकर्षण बढ्नु सेयर बजारका लागि सकारात्मक संकेत हुन् । विशेषगरी, ठूला संस्थागत लगानीकर्ताहरुले कर्जा लिएर सेयर बजारमा प्रवेश गरिरहेको तथ्यांकले देखाएको छ । शेयर बजार सुधारका लागि सरकारले नीतिगत रूपमै केही सहज व्यवस्था गरेकाले समेत लगानीकर्ताहरु थप उत्साहित भएका छन् । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा बैंकहरुलाई असल कर्जाका लागि प्रोभिजन दर घटाउने व्यवस्था गरिएको छ, जसले बजार सुधारमा सहयोग पुर्याएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३६ अकंले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.०५ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*