जगदम्बा स्टील संकटमा: वार्षिक व्यापारमा ९ अर्ब गिरावट, ऋण चुक्ता गर्न नसक्दा पनि प्रिमियम आईपीओको तयारी

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख गरेको छ । वित्तीय रुपमा टाट पल्टिन लागेको कम्पनीले लगानीकर्तालाई गुमहरामा राख्न प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको हो ।
इन्फोमेरिक्स नेपालका अनुसार वर्षदिनमा जगदम्बाको ९ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार घटेको छ । सन् २०२३ मा ३९ अर्ब ४३ करोड रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार सन् २०२४ मा २४.६० प्रतिशतले घटेर २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कोभिड १९ र मन्दिको बेला समेत उत्कृष्ट व्यापार गरेको कम्पनीको स्टिल बिक्री नहुँदा व्यापार खुम्चिदै गएको देखिएको हो ।
कम्पनीको आयमा गिरावटसँगै मुनाफा नाफाको अवस्था पनि कमजोर हुँदै गएको देखिन्छ । जगदम्बा स्टिलको EBITDA मार्जिन सन् २०२२ मा ८.७० प्रतिशत रहेकोमा सन् २०२३ मा घटेर ८.३५ प्रतिशतमा सीमित भयो । सन् २०२४ मा यो अझै खस्कँदै ७.८० प्रतिशतमा झ-यो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा यो ७.१४ प्रतिशतमा सीमित रह्यो । यसले कम्पनीको सञ्चालन दक्षतामा कमी आएको संकेत गरेको छ।
कम्पनीको ब्याज ढाक्ने अनुपात लगातार घट्दो क्रममा छ । सन् २०२२ मा २.१९ गुणा रहेको अनुपात सन् २०२३ मा १.१७ गुणामा आयो भने सन् २०२४ मा झन् कमजोर हुँदै ०.९१ गुणामा खुम्चियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा यो ०.८७ गुणामा झरेको देखिन्छ । कम्पनीलाई ऋणको ब्याज तिर्नसमेत कठिनाइ भइरहेको देखिएको हो ।
त्यस्तै, कम्पनीको कुल ऋण EBITDA अनुपात उच्च रहेको छ, जसले वित्तीय जोखिमलाई झन् बढाएको छ । सन् २०२२ मा ५.२५ गुणा रहेको यो अनुपात सन् २०२३ मा बढेर ६.०६ गुणा पुगेको थियो । सन् २०२४ मा यो ९.७४ गुणा पुगेको देखिन्छ भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा झन् बढ्दै १४.६२ गुणा पुगेको छ ।

कम्पनीको चालू अनुपात सन् २०२२ मा १.२१ गुणा रहेकोमा सन् २०२३ मा १.१७ गुणा पुगेको थियो । हालको अवस्थामा कम्पनीले आंशिक सुधार गर्दै १.२४ गुणा कायम राख्न सफल भएको देखिन्छ । यद्यपि, कुल वित्तीय ढाँचालाई हेर्दा लगानीकर्ताहरूले कम्पनीको वित्तीय जोखिमको राम्रो मूल्यांकन गर्नु आवश्यक देखिन्छ । कुल आम्दानी निरन्तर घट्दै गएको, सञ्चालन दक्षता कमजोर हुँदै गएको तथा ऋणको बोझ बढ्दै गएकोले कम्पनीका लागि चुनौतीहरू थप गहिरिँदै गएका छन् ।
कम्पनीले ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङबाट रेटिङ गराएको छ । ८ अर्ब १ करोड १८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी र ३९ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एथ्रीप्लस रेटिङ पुनः पुष्टि गराएको छ ।

कम्पनीको लेवरेज्ड पूँजी संरचना र नाफामार्जिनको गिरावट सन् २०२४ को वित्तीय वर्षमा चिन्ताजनक रहेको छ। यसले कम्पनीको ऋण र कभरज इन्डिकेटरलाई दबाबमा राख्न सक्छ। कामकाजी पूँजीको उच्च आवश्यकता, विशेषगरी आर्थिक मन्दीको समयमा, नगद प्रवाहमा समस्या सिर्जना गर्न सक्छ। कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र विदेशी मुद्रा जोखिम कम्पनीको वित्तीय स्थिरतामा थप चुनौती ल्याउने तत्व हुन्। साथै, स्टिल उद्योगमा अत्यधिक प्रतिस्पर्धाले मूल्य निर्धारणको शक्ति कम गर्ने भएकाले नाफामा दबाब पर्ने सम्भावना छ। यो सबै समस्याले कम्पनीको भविष्यको वित्तीय स्वास्थ्यमा ठूलो अनिश्चितता पैदा गरेको छ।
अझ कम्पनीले विद्युतको बक्यौता समेत दिएको छैन । कम्पनीले विद्युत प्राधिकरणलाई २ अर्ब रुपैयाँ बक्यौता तिर्न आनाकानी गर्दै आइरहेको छ । वित्तीय सूचक कमजोर रहेको र बक्यौता नतिरेको हुँदा कम्पनीले आइपीओ निष्कासनको अनुमति पाउन सकस नै हुने देखिएको छ । कम्पनीले ६ अर्बको आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
यस्तो आर्थिक दबाबमा रहेको कम्पनीले साधारण लगानीकर्ताबाट पूँजी उठाउने प्रयास गर्नु नै अनिश्चितताको संकेत हो। कमजोर वित्तीय सूचक र बक्यौता दायित्व पुरा गर्न नसकेको कम्पनीले लगानीकर्ताको हितलाई जोखिममा राख्न सक्ने भएकाले यसको आईपीओ जारी गर्नु उपयुक्त देखिँदैन।
जगदम्बा स्टिल्स प्राइभेट लिमिटेडको स्थापना सन् १९९३ को अक्टोबर १ मा भएको थियो, जुन पछि २०२२ को जुलाई १४ मा रूपान्तरण भई जगदम्बा स्टिल्स लिमिटेड बनेको हो । कम्पनीको उत्पादन केन्द्र नेपालको बारा जिल्लाको सिमरामा अवस्थित छ, जहाँ विभिन्न प्रकारका स्टिल सामग्री उत्पादन गरिन्छ ।
कम्पनीको कुल वार्षिक उत्पादन क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ । उत्पादन गतिविधिहरूलाई चार प्रमुख समूहमा विभाजन गरिएको छ, जसमा कोल्ड रोल्ड उत्पादनहरू, रोलिङ मिल उत्पादनहरू, वायर उत्पादनहरू र मेल्टिङ उत्पादनहरू समावेश छन् । यी समूहहरू मार्फत प्रशोधित स्टिल पाता, निर्माण तथा औद्योगिक प्रयोजनका लागि स्टिल रड र बीम, स्टिल तार तथा अन्य तारजन्य सामग्री र कच्चा फलामलाई गलाई तयार पारिएका विविध स्टिल सामग्री उत्पादन गरिन्छ । कम्पनीले नेपालभर ५९० भन्दा बढी आधिकारिक बिक्रेताहरू (मध्य–जुलाई २०२४ सम्म) मार्फत आफ्ना उत्पादनहरू वितरण गरिरहेको छ । जगदम्बा स्टिल्स लिमिटेड शंकर समूहअन्तर्गतको कम्पनी हो ।













