नेपाल चलचित्र कलाकार संघले वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको कार्यकारिणी समितिको बैठकले आगामी चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने निर्णय गरेको छ। नेपाल चलचित्र संघ पुरस्कार स्व शान्ती मास्के स्मृती पुरस्कार र गोपाल राउत स्मृति पुरस्कारका लागि सम्मानित कलाकारहरूको नाम घोषणा गरिएको हो ।
नेपाल चलचित्र संघ पुरस्कार जसको स्थापना वि.सं. २०५५ सालमा बसुन्धरा भुसालको अध्यक्षतामा गरिएको थियो, यस वर्ष पनि जारी राखिने छ। यो पुरस्कार विशेषत चलचित्र क्षेत्रको दीर्घकालीन योगदानको कदर गर्नका लागि प्रदान गरिन्छ। वि.सं. २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार यस वर्ष चरित्र अभिनेता मुकुन्द किसोर भट्टराई, विसं २०७९ सालको पुरस्कार अभिनेता लय संग्रौला र विसं २०८० सालको पुरस्कार अभिनेता पुरण जोशीलाई अर्पण गर्ने निर्णय गरिएको छ।
स्व.शान्ती मास्के स्मृति परस्कारको घोषणा पनि गरिएको छ, जुन विसं २०६८ सालमा स्थापित भएको हो। यस वर्ष यो सम्मान अभिनेत्री गौरी मल्ललाई दिइनेछ। यस पुरस्कारको राशी ५६ हजार रहेको छ र यसअगाडि मदनदाश श्रेष्ठ, आर पि पन्त र मिथिला शर्मा बोहरा लगायत कलाकारहरूलाई यस पुरस्कारबाट सम्मानित गरिएको छ।
अर्को विशेष पुरस्कार स्व. गोपाल राउत स्मृति पुरस्कारको घोषणा गरिएको छ। अमेरिकामा रहेका कलाकार र लक्ष्मी शर्माले तीन लाख रुपैयाको अक्षयकोशबाट प्राप्त व्याज रकमको आधारमा यो पुरस्कार स्थापित गरिएको हो। यस वर्षका लागि यो पुरस्कार अभिनेता रामकाजी घिमिरेलाई दिइने छ।
नेपाल चलचित्र कलाकार संघले अन्य सम्मान पनि अर्पण गर्ने निर्णय गरेको छ, जसमा डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई सम्मानित गरिनेछ।
यी सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजित वार्षिक साधारण सभामा अर्पण गरिनेछ।













