लगातार तेस्रो दिन समेत घट्यो बजारः कारोबार खुम्चियो, किन बढ्न सकेन ?

काठमाडौं । लगातार तीन दिनदेखि नेप्से परिसूचकमा गिरावट देखिए पनि समग्र बजार अवस्था सकारात्मक रहेको छ । पछिल्ला दिनहरूमा शेयर कारोबार रकम औसतमा राम्रो देखिए पनि अघिल्लो दिनको तुलनामा केही कमी आएको छ । बजार विश्लेषकहरूका अनुसार छोटो अवधिमा तीव्र वृद्धि भएको नेप्सेमा स्वाभाविक करेक्सन आएको हो, जसले लामो समयका लागि बजारलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।
ट्रेडरहरूले छोटो अवधिमा नाफा सुरक्षित गर्न थालेपछि बजारमा बिक्री दबाब देखिएको छ । यसअघि लगातार नौ कार्य दिनसम्म बजार उकालो लागेको थियो, जसले नेप्सेलाई करिब २१२ अंकले माथि बढाएको थियो । तीव्र वृद्धिपछि छोटो अवधिको मुनाफा सुरक्षित गर्ने प्रवृत्तिले बजारमा स्वाभाविक समायोजन ल्याएको हो । तर, बजारको समग्र मनोविज्ञान सकारात्मक रहेको विश्लेषकहरू बताउँछन् ।
हाल बैंकहरूको ब्याजदर न्यून रहेकाले शेयर बजारमा लगानीको प्रवाह बढेको छ । तरलता प्रशस्त भएकाले बैंक निक्षेपभन्दा सेयर बजारमा लगानी आकर्षक देखिएको छ । संस्थागत लगानीकर्ताहरू, म्युचुअल फन्डहरू, तथा बिमा कम्पनीहरूले समेत सेयर बजारमा आफ्नो लगानी बढाएका छन् । यसले सेयर बजारमा माग वृद्धि गर्दै लगानीकर्ताको आकर्षण उच्च बनाइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अकंले घटेर २८२१.१३ अकंले बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन व्यापार समूह बाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । आज समाज लघुवित्त र गार्डियन माइक्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।












