संसदमा मागियो अर्थमन्त्री पौडेलको राजीनामा

काठमाडौं । प्रतिनिधि सभा सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले अर्थमन्त्रीद्वारा पेस गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ अस्वीकृत गर्न माग गरेका छन्। संसदमा विचाराधीन विधेयकलाई छल्दै अध्यादेश ल्याइनु गैरसंवैधानिक भएको भन्दै उनले अर्थमन्त्रीको राजीनामा समेत माग गरेका छन्। ‘२०८१ साउन ३२ पेस गरेको विद्येक गरिमामय सदनलाई छलेर अध्यादेश बनाएर पुनः पेश गर्नु भएको हुँदा नैतिकताको आधारमा तत्काल अर्थमन्त्रीले राजीनामा दिनुहोस्’ उनले भने ।
प्रतिनिधि सभामा बोल्दै सांसद लामाले संविधानको धारा ११० अनुसार साउन ३२ गते संसदमा दर्ता भएको विधेयक अहिले संसदको सम्पत्ति र जनताको नासो भएकाले यसको छलफल संसदीय प्रक्रियाबाटै टुंगो लगाइनु पर्ने बताएका छन्। उनले प्रतिनिधि सभा नियमावली २०७९ को बुँदा १२२ उल्लेख गर्दै संसदमा दर्ता भइसकेका विधेयकहरुलाई छलफलमै रहनुपर्ने धारणा राखे।
सांसद लामाले सरकारले लोकतान्त्रिक विधि र प्रक्रिया मिच्दै अध्यादेश ल्याएको आरोप लगाए। बजेटको सिद्धान्त र प्राथमिकता उपर संसदमा तीन महिना अगाडि नै छलफल भएको स्मरण गराउँदै उनले अध्यादेश एक महिनामा झारिएको प्रति आपत्ति जनाए। यसलाई लोकतान्त्रिक पद्धतिको अवमूल्यन भएको भन्दै उनले या त लोकतन्त्रको हत्या भएको घोषणा गर्नुपर्ने वा सर्वसत्तावाद लागू भएको स्विकारेको भन्ने अवस्थामा संसदलाई पुर्याइएको बताए।
उनले संसदमा विचाराधीन विधेयकलाई सम्मान गर्दै अध्यादेश फिर्ता हुनुपर्ने माग राख्दै लोकतन्त्रको रक्षा गर्न सबै सांसदहरू एकजुट हुनुपर्ने बताए। अध्यादेशमार्फत सरकारले गरिमामय संसदलाई छलेको भन्दै उनले यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखे।
सम्पादन गरिएको













