अमेरिकामा पढ्न गएका दुई नेपाली विद्यार्थी बलात्कार आरोपमा पक्राउ

काठमाडौँ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि गएका दुई नेपाली विद्यार्थी बलात्कार आरोपमा पक्राउ परेका छन् । मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत २० वर्षीय दिपक फयाल र १९ वर्षीय सुजन तामाङमाथि बलात्कारको अभियोग लागेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार नोभेम्बर १ मा सेन्ट क्लाउडको फस्ट एभेन्यु साउथस्थित छात्रावास कोठामा एक महिलालाई बलपूर्वक लिएर गई बलात्कार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नेपाली भाषी भएको पुष्टिसँगै नेपाली नागरिक नै भएको पुष्टि भएको छ। सेन्ट क्लाउड प्रहरीले घटनामा संलग्न दुई संदिग्धविरुद्ध देशव्यापी पक्राउ आदेश जारी गरेको थियो।
फयाललाई गत बिहीबार क्यालिफोर्नियाको फ्रिमोन्ट प्रहरी विभागअन्तर्गतको स्ट्रीट क्राइम्स युनिटले पक्राउ गरेको छ। उनलाई मिनेसोटा सुपुर्दगी गर्ने तयारी भइरहेको छ। प्रहरी रेकर्डअनुसार, फयाललाई बेलुकी ५:२० बजे पक्राउ गरी ८:३५ बजे जेलमा बुक गरिएको थियो। उनलाई सान्तारिता जेलमा राखिएको छ। अनुसन्धानमा फयालले घटनापछि मिनेसोटा छाडेर क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे युनिभर्सिटीमा ट्रान्सफर गरेको देखिएको छ। अदालतका अनुसार उनलाई ईस्ट काउन्टी हल अफ जस्टिसमा बुधबार विहान ९ बजे पेश गरिनेछ।
अर्का संदिग्ध तामाङ पनि प्रहरी हिरासतमा रहेको खुलेको छ। फयालमाथि पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहारको आरोप लगाइएको छ भने तामाङमाथि पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप तथा चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ।
सेन्ट क्लाउड स्टेट युनिभर्सिटीका प्रवक्ताका अनुसार उनीहरू दुवै विद्यार्थी विश्वविद्यालयमा फल सेमेस्टरका लागि भर्ना भए पनि स्प्रिङ सेमेस्टरका लागि दर्ता नभएको जानकारी दिएका छन्। घटनाको अनुसन्धानका लागि सेन्ट क्लाउड प्रहरीले सार्वजनिक सहयोगको लागि आग्रह गरेको छ।













