५ करोड भन्दा धेरै चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट कम्पनी बोर्डमा सूचीकृत हुनुपर्ने, यस्तो छ सेबोनको निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको छ। बोर्डले फागुन २३ गते एक सूचना जारी गर्दै, मनी लाउन्डरिङ निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन आदेश दिएको हो।
यस अन्तर्गत ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्डमा सूचीकृत हुने प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
बोर्डले सूचीकृत हुने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक विवरण र कागजातसहित आवेदन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। यस निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको व्यवसायिक र वित्तीय स्थिति पारदर्शी बनाउने र बजारमा राम्रो नियमनको व्यवस्था गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले बोर्डमा सूचीकृत हुनका लागि आवश्यक कागजातमा निवेदन पत्र, संचालक समितिको विवरण, कम्पनीको अद्यावधिक प्रबन्धपत्र, नियमावली, दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कम्पनीको चुक्ता पुँजी विवरण र अन्य आवश्यक कागजात समावेश गर्नुपर्नेछ।













