नवीकरणीय ऊर्जा विधेयक प्रतिनिधि सभाबाट पारित

२३ फाल्गुन २०८१, शुक्रबार १७:०२

काठमाडौँ । प्रतिनिधिसभाले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ पारित गरेको छ। शुक्रबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभाबाट उत्पत्ति भएको सो विधेयकमाथि छलफल अघि बढाउन प्रस्ताव पेश गरेका थिए, जसलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो। सभामुख देवराज घिमिरेले संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूलाई अवसर प्रदान गरिएको जानकारी दिए।

मन्त्री खड्काका अनुसार, विधेयकले हरितगृह ग्यास उत्सर्जन घटाउने, ऊर्जा सुरक्षाको ग्यारेन्टी गर्ने र हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा विभिन्न सांसदहरूले भाग लिँदै ऊर्जा सम्मिश्रण, दक्षता र वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

यसैबीच, प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१)’ प्रस्तुत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन सभामा पेश गरेका हुन्। यस प्रतिवेदनले मानव अधिकारको वर्तमान अवस्था, चुनौतीहरू र आवश्यक सुधारबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*