संविधानको रक्षा गर्दै आवश्यक परे संशोधन हुन्छः प्रधानमन्त्री ओली

२३ फाल्गुन २०८१, शुक्रबार १७:४०

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन सरकारको प्रमुख दायित्व रहेको बताएका छन्। कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त संविधानले सबै नागरिकलाई समान अधिकार र प्रतिस्पर्धाको अवसर प्रदान गरेको उल्लेख गर्दै आवश्यकतानुसार संशोधन गर्दै जाने धारणा राखे।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको स्मरण गर्दै संविधान संशोधन राष्ट्रिय आवश्यकताअनुसार गरिने बताए। गणतन्त्रले नागरिक सर्वोच्चतालाई स्थापित गरेको भन्दै उनले उत्पादन वृद्धि, प्रविधिको उपयोग, र विकास योजनाको प्रभावकारी कार्यान्वयन सरकारको प्राथमिकता रहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले संसद्मा दुई तिहाइ बहुमतको सरकार स्थिरतासहित अगाडि बढिरहेको जनाउँदै आगामी निर्वाचनसम्म यो सहकार्य कायम रहने बताए। कर्णाली प्रदेशमा जलविद्युत् परियोजना, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, पेट्रोल खानीजस्ता विकास परियोजनाहरूलाई निरन्तरता दिइने आश्वासन दिए।

उनले तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समाजमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने दाबी गरे। सरकारले सुरू गरिसकेका योजनाहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले सामाजिक सञ्जालमा देखिएको असभ्य प्रवृत्ति नेपाली संस्कृतिसँग मेल नखाने धारणा व्यक्त गरे।

फाइल तस्बिर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*