आर्थिक भार थेग्न नसक्दा तारा एयरले गर्‍यो सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडान बन्द

२५ फाल्गुन २०८१, आईतवार १२:३९

काठमाडौँ। तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लातर्फ गर्दै आएको हवाई सेवा बन्द गरेको छ। यात्रु संख्या कम हुनुका साथै प्रत्येक उडानमा नोक्सान भएपछि सेवा निरन्तर सञ्चालन गर्न नसकिएको एयरलाइन्सले जनाएको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ को डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा केही महिनामै बन्द भएको हो।

हिमाली टुर एण्ड ट्राभल्समार्फत तीन जिल्लाका लागि तारा एयरले उडान भर्दै आएको थियो। तर, कर्णाली प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको र निरन्तर घाटा सहनु परेपछि सेवा बन्द गर्नु परेको ट्राभल्सका मिनबहादुर रावलले जानकारी दिए। प्रारम्भिक सहमतिअनुसार सातामा दुई पटक नियमित उडान भर्ने योजना थियो, तर आर्थिक भार थेग्न नसक्दा सेवा स्थगित गरिएको हो।

यस्तै, निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सुर्खेत–काठमाडौँ तथा धनगढीका लागि शनिबार परीक्षण उडान सम्पन्न गरेको छ। एटीआर ७२ विमानमार्फत सम्पन्न परीक्षण उडान सफल भएको एयरलाइन्सले जनाएको छ। प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यात्रु माग र वैकल्पिक विमानस्थल विकास गर्ने उद्देश्यले सुर्खेत र धनगढीमा परीक्षण उडान गरिएको हो। रिपोर्टका आधारमा यती एयरलाइन्सले आगामी दिनमा नियमित उडान सुरु गर्ने तयारी गरिरहेको छ।

तारा एयरको सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा जाने यात्रुहरू पुनः बाँकेको नेपालगञ्ज विमानस्थलमा निर्भर हुनुपर्ने अवस्था आएको छ। हाल नेपालगञ्जबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान गरिरहेका छन्। तर, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सुर्खेत विमानस्थलबाट कुनै पनि सेवा सञ्चालन गरेको छैन, जसका कारण कर्णालीका यात्रुहरूलाई असुविधा हुँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*