पूर्वराजा शाहको आगमनलाई लिएर त्रिभुवन विमानस्थलमा सुरक्षा कडा

काठमाडौं । पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। हवाई टिकट भएका यात्रु र कर्मचारीबाहेक अरूलाई विमानस्थल भित्र प्रवेश गर्न रोक लगाइएको छ। प्रहरीले कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गर्दै निगरानी बढाएको छ।
पूर्वराजाको आगमनलाई संवेदनशील मान्दै विमानस्थल वरपरको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाइएको छ। प्रहरीले सम्भावित हुलहुज्जत तथा सामाजिक शिष्टता विपरीतका गतिविधि हुन नदिन त्रिभुवन विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्म सुरक्षा व्यवस्था कडा बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूहलगायतका समर्थकहरूले पूर्वराजा शाहलाई विमानस्थलमै स्वागत गर्ने तयारी गरेका छन्। भिड नियन्त्रण तथा शान्ति सुरक्षाको सुनिश्चितता गर्न सुरक्षाकर्मीको तैनाथी बढाइएको प्रहरीले जनाएको छ।













