नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन (नामसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन्। अर्थमन्त्रालय सचिवालयमा फागुन २५ गते साँझ ५ बजेसम्म उक्त पदका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिएका हुन्।
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारहरूमा पूर्ण प्रसाद आचार्य (इलाम), बद्रि प्रसाद प्याकुरेल (नुवाकोट), नारद कुमार लुइटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलाञ्चोक), चुडामणी चापागाई (झापा), बिमल कुमार तिवारी (सिराहा), कृष्ण बहादुर कार्की (पाल्पा), हेमन्त बश्याल (पाल्पा) र मुकन्द राज जोशी (डडेलधुरा) रहेका छन्।
नयाँ नेतृत्वले पुँजी बजार सुधार, लगानीकर्ताको हित संरक्षण तथा प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।सीईओ पदका लागि उम्मेदवार बन्न धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ (क) अनुसार आवेदकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानूनमा स्नातकोत्तर उपाधि वा चार्टर्ड एकाउण्टेन्सी उपाधि हासिल गर्नुपर्ने हुन्छ। साथै, पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी उच्च व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षसहित १५ वर्षको कार्यानुभव आवश्यक पर्दछ।
त्यस्तै, उम्मेदवार नेपालको नागरिक हुनुपर्ने र धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य व्यक्ति हुनु नहुने प्रावधान छ। उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष र अधिकतम ६५ वर्ष हुनुपर्नेछ। साथै, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्त्विक सम्पत्ति वा संरक्षित वन्यजन्तु सम्बन्धी फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्ति, कालो सूचीमा रहेका वा विदेशी मुलुकबाट स्थायी आवासीय अनुमति लिएका व्यक्तिहरूले यो पदका लागि आवेदन दिन पाउँदैनन्।
सोहि ब्यवस्था बमोजिम १० जनाले सीइओ बन्नका लागि आवेदन दिएका हुन् ।













