संशोधित हकप्रद प्रस्ताव सहित युनाईटेड मोदीले बोलायो साधारणसभा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले आगामी चैत २७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी बैङ्क्वेट हलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद शेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।












