बैंकले ऋण असुल्न हतार गर्ने होइन वातावरण तयार गर्नुपर्छः प्रधानमन्त्री ओलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई अप्ठ्यारोमा परेका ऋणीहरूसँग सहानुभूति राखेर सहयोग गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले ऋणीहरूसँग कठोर व्यवहार नगरी, उनीहरूको समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताएको थियो। उनले बैंकहरूले ऋण असुली गर्न हतार नगरी, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्ने आवश्यकता औँल्याए।
ओलीका अनुसार, ऋण नतिर्नेलाई खराब ऋणी भन्नु न्यायोचित नहुन सक्छ, किनकि ऋणीहरू प्रायः परिस्थितिको कारणले अप्ठ्यारोमा पर्छन्। उनले भने, ‘धेरैजसो ऋणीहरू ऋण तिर्न चाहन्छन्, तर परिस्थिति उनलाई अप्ठ्यारोमा पार्दछ। बैंकहरूले ऋण उठाउन कडा नीति अपनाउनेभन्दा, उनीहरूको सहायता गरेर ऋण फिर्ता गर्ने वातावरण बनाउनुपर्छ।’
प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरूको आर्थिक कठिनाइलाई सम्झदै, बैंकहरूले उनीहरूको सहयोग गर्नुपर्ने विचार व्यक्त गरे। उनले भने, ‘यदि ऋणीलाई डुब्नबाट जोगाइयो भने मात्र उसले ऋण तिर्न सक्छ।’ यसका साथै, उनले बैंकहरूलाई दीर्घकालीन सोच राखेर काम गर्न र ऋणीहरूसँग सहानुभूति राख्न सुझाव दिएका छन्।
रोजगारी सिर्जनाको विषयमा बोल्दै ओलीले उद्यमशीलताको विकास नगरी रोजगारीको सृजनालाई असम्भव ठहराएका छन्। उनले भने, ‘रोजगारी आकाशबाट झर्नेवाला छैन।’ उनका अनुसार, उद्यमशीलताबाटै रोजगारीका अवसरहरू सिर्जना हुनेछन् र युवाहरूलाई आफ्नो व्यवसाय शुरु गर्नका लागि प्रेरित गर्नुपर्ने आवश्यकता छ।













