पुँजी बजारमा राताम्यः कारोबार र परिसूचकमा भारी गिरावट, किन लयमा फर्किन सकेन मार्केट ?

काठमाडौँ । लगातार छैटौं दिनसम्म पुँजी बजार ओरालो लागेको छ, जसले लगानीकर्तामा निराशा फैलाएको छ । बजारको गिरावटसँगै नयाँ र सर्वसाधारण लगानीकर्तामा प्यानिक फैलिएको र धेरैले आत्तिएर सेयर बिक्री गरेका छन्। यसका कारण नेप्से सूचक झनै फराकिलो अंकले घट्न थालेको छ । बजारमा पहिलेको बढोत्तरीपछि सेयर बिक्री चाप बढ्न थालेपछि सूचक दबाबमा परेको हो । साथै, बजार घटेपछि नाफा खाएर बिक्री गर्ने लगानीकर्ताहरू पुनः खरिदका लागि घटेको बजारको पर्खाइमा छन्।
राजनीतिक अस्थिरतासमेत अहिलेको बजारको कमजोरीका कारण मानिएको छ । सडकमा राजावादीहरूको सक्रियता र राजनीतिक परिवर्तनका मुद्दाहरूले लगानीकर्तामा डर पैदा गरेको छ। यद्यपि, सेयर बजारमा राजनीतिक असर भने अल्पकालीन हुन सक्छ। प्राविधिक विश्लेषण गर्नेहरूले पनि बजार तल झर्न सक्ने रेखा देखेर आफ्नो रणनीति तय गरेका छन्, जसले खरिद पक्ष कमजोर बनाएको छ। यसले सप्लाई पक्षलाई हावी बनाउँदै बजारको गिरावटलाई बढाएको हो ।
तर, विश्लेषकहरूका अनुसार, बजारमा अहिले करेक्सन चक्र पूरा हुने क्रममा छ । सामान्यतया, बजार घटेपछि जोखिम कम र अवसर बढी हुने भन्दै अब बढेको बजारमा खरिद गर्ने लगानीकर्तालाई लाभको सम्भावना बढी हुने देखिन्छ। वर्तमानमा बैंक ब्याजदर सस्तो र अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्, जसले सेयर बजारको वृद्धिमा मद्दत पुर्याउनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो ।
आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

यसदिन ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको घटेको छ।












