जबसम्म पुँजी बजार चलायमान हुँदैन तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जबसम्म नेपालको पुँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन।” उनले थपे, “नेपालको पुँजी बजारमा निजी क्षेत्रको उपस्थिति उद्योगसँग र व्यापारसँग जोडिएका सन्दर्भहरूको परिणाम हो। आजको व्यापार असन्तुलनको पनि चर्चा भएको छ।’
मन्त्री भण्डारीले कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व घट्दै जानु निकै चिन्ताजनक भएको उल्लेख गरे । उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिको उत्पादकत्व पाँच प्रतिशतमा घटेको भन्दै नेपालको ब्राण्डका उद्योगहरू, जस्तै पस्मिना, गार्मेन्ट र गलैँचा, बन्द हुनुको कारण पनि औंल्याए । छिमेकी मुलुकहरूले लगानी गरेका संस्थाहरू धराशायी हुनुको कारण अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री भण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा रोजगारी ग्यारेन्टी गर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालका विषय समावेश गरिने बताए । उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गरे ।












