मूल्य वृद्धि दर घट्दै, कुन क्षेत्रमा कति ?

२६ फाल्गुन २०८१, सोमबार १७:३३

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्याङ्क अनुसार मूल्य वृद्धिको दर घट्दै गएको देखिएको छ। २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.०१ प्रतिशत थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्ष यी दरहरू क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेका थिए।

खाद्य वस्तुमध्ये घ्यू तथा तेल उपसमूहको मूल्य सबैभन्दा बढी १२.८० प्रतिशतले बढेको छ। त्यस्तै, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत र खाद्यजन्य वस्तुहरू ६.३६ प्रतिशतले महँगिएका छन्। तर, मरमसला उपसमूहको मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ।

गैर-खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवाको मूल्य १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा मुद्रास्फीति सबैभन्दा उच्च ६.१५ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा कम ३.३५ प्रतिशत छ। मधेशमा ३.९१ प्रतिशत, गण्डकीमा ३.४० प्रतिशत, लुम्बिनीमा ४.१६ प्रतिशत, कर्णालीमा ४.०५ प्रतिशत र सुदूरपश्चिममा ४.७१ प्रतिशत मुद्रास्फीति रहेको छ।

भेगगत रूपमा काठमाडौं उपत्यकामा ३.५३ प्रतिशत, तराईमा ४.२५ प्रतिशत, पहाडी क्षेत्रमा ४.११ प्रतिशत तथा हिमाली क्षेत्रमा ५.२१ प्रतिशत मुद्रास्फीति देखिएको छ।

थोक मुद्रास्फीति पनि न्यून देखिएको छ। २०८१ माघमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २.८२ प्रतिशत थियो। उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार उपभोक्ता मुद्रास्फीति केही कम भएसँगै मूल्य वृद्धि नियन्त्रणमा रहेको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*