साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे सात अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा सात अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार सात महिनासम्ममा तीन अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, एक अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर, ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ८५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।












