स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

२६ फाल्गुन २०८१, सोमबार २०:१२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले व्यास(५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो। पाँच महिनादेखि रिक्त रहेको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।

उनको कार्यकाल सकिएपछि मन्त्रालयले डा सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएको थियो।

कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषदले काफ्लेलाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य थिए। उनी स्वास्थ्य बीमा सुधारका विषयमा गहिरो जानकारी भएका व्यक्ति हुन्। समितिमा रहँदा पनि उनले स्वास्थ्य बीमा सुधारका धेरै सुझावहरु दिएको समितिका अन्य सदस्यहरुले जानकारी दिएका थिए।

उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन्। उनले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम गरेका थिए।

काफ्लेले करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहभागितात्मक जिल्ला विकास कार्यक्रम र संयुक्त राष्ट्रसंघीय बाल कोष यूनिसेफको महिला तथा बालबालिका सम्बन्धी विकेन्द्रित कार्यक्रम लगायतका विकास साझेदारका परियोजनाहरुको जिल्ला टोली नेताको रुपमा काम गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*