हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।














