राष्ट्र बैंकले भन्यो ‘डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको प्रयोग गरौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको मात्र प्रयोग गर्न आग्रह गरेको छ। बैंकले सार्वजनिक, निःशुल्क वा असुरक्षित वाइफाइ नेटवर्कमार्फत बैंकिङ कारोबार गर्दा वित्तीय विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने भन्दै सचेत रहन उपभोक्तालाई अनुरोध गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा ह्याकर तथा वित्तीय अपराधीहरूले असुरक्षित नेटवर्कको फाइदा उठाएर बैंकिङ विवरण चोरी गर्न सक्ने जोखिम औंल्याइएको छ। त्यसैले डिजिटल बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट वा एप्लिकेसन प्रयोग गर्न, पासवर्ड तथा पिन कोड समय(समयमा परिवर्तन गर्न, र सुरक्षित तथा विश्वसनीय नेटवर्कबाट मात्र कारोबार गर्न सुझाव दिइएको छ।
ग्राहकहरूले कुनै समस्या वा शंका लागेमा नेपाल राष्ट्र बैंकको गुनासो दर्ता अनलाइन पोर्टल वा वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१-५७१९६०५ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।













