शिखरका मेयर बलायरले ब्यवस्थाको धज्जी उडाउँदै किने नयाँ गाडी

काठमाडौँ । डोटी शिखर नगरपालिकाका मेयर दिर्घ बलायरले गैरकानुनी रूपमा सवारी खरिद गरेका छन्। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै मेयर बलायरले गाडी खरिद गरेका हुन्।
उनले से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए, तर सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनुपर्ने मापदण्ड, २०८१ को उल्लङ्घन गर्दै महिन्द्रा स्कोर्पियो पिकअप ५१ लाख ४० हजार रुपैयाँमा खरिद गरेका छन्।
शिखर नगरपालिकाको १६औं नगरसभाले मेयर बलायरका लागि ५२ लाख रुपैयाँको नयाँ गाडी खरिदका लागि बजेट स्वीकृत गरेको थियो। मापदण्डमा भनेको छ, ‘सवारी साधनको सुविधाप्राप्त गर्ने पदाधिकारीलाई प्रचलित कानून वा अधिकार प्राप्त अधिकारीबाट कारण खुलाइ निश्चित प्रयोजनका लागि तोकिएको अवस्थामा बाहेक एकभन्दा बढी सवारी साधन उपलब्ध गराइने छैन ।’ यसअघिको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७ मा समेत सोहि कुरा उल्लेख गरेको छ ।
मापदण्डअनुसार सवारी मर्मत गरेर प्रयोग गर्नुपर्ने र प्रयोगमा आउन नसक्ने अवस्थामा मात्र गाडी लिलाम गर्नुपर्ने भनिएको छ। तर मेयर बलायरले यो मापदण्डको उल्लङ्घन गर्दै नयाँ गाडी खरिद गरेका छन्। नगरपालिका स्रोतका अनुसार पुरानो गाडी अहिले उपमेयर सुनिता जोरा रावलले प्रयोग गर्दै आइरहेकी छिन्, जबकि व्यवस्थाअनुसार उपमेयरलाई सवारी साधनको सुविधा उपलब्ध गराइँदैन।

बलायरले ठाकुर अटो केयर प्रालि धनगढीबाट सवारी खरिद गरेका हुन् । सवारी खरिद गरे पनि रकम भुक्तानी भने नभएको ठाकुर अटोले बीमापोष्टलाई जनाएको छ । सवारी खरिद भएको करिब १ महिना हुँदा समेत नगरपालिकाबाट रकम निकासा हुन नसक्दा गाडीको भुक्तानी हुन सकेको छैन ।
नगरपालिकाका सर्वसाधारणले महँगो गाडी खरिदमा ठूलो रकम खर्च गर्नु अन्यायपूर्ण भएको र नगरपालिकाका आधारभूत आवश्यकता पूरा गर्न बढी ध्यान दिनुपर्ने स्थानियहरुको तर्क छ ।













