सूर्योदय वोमी लघुवित्तको गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४, बसन्तपुरमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अत्तरियामा संस्थाका सदस्यहरूलाई भेला गराई उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
संस्थाका शाखा प्रमुख दिपक महराले शाखामा आबद्ध सदस्यहरुलाई कार्यक्रममा समेटिएको बताए। उनले शाखाका बारेमा सदस्यहरूका गुनासाहरू सुन्न र ती गुनासाहरूका बारेमा संस्थाको केन्द्रीय तहसम्म जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए। “हामीले हाम्रो तर्फबाट राम्रै देखिरहेका हुन्छौ, तर उहाँहरूको तर्फबाट उहाँहरूको गुनासो के छ भन्ने विषयमा थाहा पाउनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं।” उनले भने “यो कार्यक्रमले सदस्यहरूको गुनासाहरूका बारेमा जानकारी पाईँनुका साथै संस्थालाई सुधारोन्मुख बनाउन र अझै प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं।”
गुनासो संकलनपछि संस्थाका अनुगमन अधिकृत जमिल खत्रीले केही गुनासाहरूको तत्काल समाधान दिने प्रयास गरेका थिए भने बाँकी गुनासाहरू संस्थाको केन्द्रिय कार्यालयसम्म पठाइने बताए। कार्यक्रममा सहजीकरणका लागि गुलरिया कैलाली शाखा प्रमुख मोहन बहादुर गुधार्मी पनि उपस्थित थिए।
कार्यक्रमको सञ्चालन हसुलिया शाखा प्रमुख भोजराज चौधरीले गरेका थिए भने स्वागत मन्तव्य मोहन बहादुर गुधार्मीले राखेका थिए। भेलामा समूह सदस्य धाना साउद सभाध्यक्ष रहेकी थिइन् भने प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिका वडा नं. ४ का अध्यक्ष हेमप्रकाश मल्ल, विशिष्ट अतिथिका रूपमा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्ल र जिल्ला अध्यक्ष प्रमोद अधिकारी उपस्थित थिए।
समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरू, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट बालबचतकर्तालाई नगदसहित सम्मान गरिएको थियो।
२०७७ सालमा अत्तरियामा शाखा कार्यालय स्थापना गरेको सूर्योदय वोमी लघुवित्तले हाल कैलालीको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दाहरूलाई वित्तीय सेवा दिँदै आएको छ।
संस्थामा हाल १ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् भने देशभर १७९ शाखामार्फत करीब १ लाख ८० हजार सदस्यहरूलाई सेवा दिइरहेको छ।












