हिरा बोहरा स्ववियु सचिवकी उम्मेदवार, सामाजिक अभियानमा अनुभव बोकेकी युवा नेतृ

काठमाडौँ । महेन्द्र रत्न क्याम्पस, ताहाचलमा स्नातक तह चौथो वर्षमा अध्ययनरत हिरा बोहरा आसन्न स्ववियु चुनावमा सचिव पदका लागि उम्मेदवार बनेकी छिन् । बैतडी जिल्लाको दशरथ नगरपालिका–२ स्थायी घर भई अध्ययनरत बोहरा सामाजिक सेवा, नीति निर्माण, युवा नेतृत्व र वकालतमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् ।
बोहराले बियोन्ड बेजिङ कमिटी नेपाल, एसोसिएसन अफ युथ अर्गनाइजेसन नेपाल, रेडक्रस, UNFPA लगायतका संस्थामार्फत विभिन्न सामाजिक अभियान सञ्चालन गरेकी छन् । उनले बृहत यौनिकता शिक्षा सम्बन्धी तालिम सहजीकरणदेखि नीति निर्माण युवा संसद र वकालतमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकीछन् ।
संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएकी बोहरा डिजिटल प्रविधि, समावेशी शिक्षा, युवा नेतृत्व, वक्तृत्वकला तथा खेलकुद क्षेत्रमा समेत विशेष रुचि राख्छन् । उनले स्ववियु सचिव निर्वाचित भएपछि शैक्षिक सुधारका साथै सामाजिक मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएकी छन्। बोहराले विद्यार्थीका हकहित, समावेशी शिक्षाका पक्षमा सक्रिय पहल गर्ने योजना सार्वजनिक गर्दै आफ्नो अनुभवलाई विद्यार्थी समुदायको हितमा उपयोग गर्ने बताइन् ।
हिरा बोहरा एक उत्साही, प्रतिबद्ध र नेतृत्वदायी क्षमता बोकेकी युवा नेतृ हुन्, जसले शिक्षामा सुधार, सामाजिक समावेशिता र विद्यार्थी अधिकारको वकालतलाई आफ्नो प्रमुख लक्ष्य बनाएकी छन्। विविध सामाजिक संस्थाहरूमा अनुभव हासिल गरेकी उनले विद्यार्थी समुदायलाई डिजिटल शिक्षासँग जोड्ने, मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने अभियानलाई प्राथमिकता दिने बताइन् ।













