राष्ट्रवादी मोर्चाको आन्दोलन सुरुवात भएको द डार्क फाइलका संयोजक तिमिल्सिनाको घोषणा

काठमाडौं । भ्रष्टाचार बिरुद्ध ‘द डार्क फाइल’ अभियानका संयोजक राजकुमार तिमिल्सिनाले राष्ट्रको पक्षमा र भ्रष्टाचारको विरुद्ध नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका छन् । सोमबार बिहान तिमिल्सिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका हुन् ।
तिमिल्सिनाले केही दिनमै नयाँ राजनीतिक घटनाक्रम बिस्तार हुने र देशको मेरुदण्डको रुपमा राजनीति भएकाले अहिलेको राष्ट्रघाती राजनीति देशको लागि उचित नभएको धारणा व्यक्त गरेका छन् । यता उनको यस अभियानमा देश तथा विदेशबाट कैयौं नागरिकहरू समावेश भइरहेका छन् ।
तिमिल्सिनाले आम देशवासीहरूलाई राष्ट्रवादी शक्तिको पक्षमा उभिने कि राष्ट्रघातीको पक्षमा उभिने भन्दै प्रश्न गरेका छन् । ‘आजदेखि करीब सात महीना भित्र अर्थात् सन् २०२५ अक्टोबर वा असोजसम्मको अवधिमा देशमा नयाँ राजनीतिक परिवर्तन आउनेछ।’ उनले भनेका छन् ।
वर्तमान व्यवस्थाका संसदीय शक्तिहरु भ्रष्ट, दलाल, बिचौलिया माफियाका संरक्षण र संविधानको मर्यादा विपरीत कार्य गर्ने शक्ति भएकाले यस्ता शक्तिहरुलाई निराकण गर्न राष्ट्रवादी मोर्चामा समावेश हुन समेत उनले आग्रह गरेका छन् ।
राष्ट्रवादी मोर्चामा पूर्णरूपमा स्वतन्त्र प्रतिनिधि व्यवस्था अन्तर्गत सबै सार्वजनिक पदाधिकारी स्वतन्त्र, कुनै पनि पार्टीको नियन्त्रणबाहिर रहने व्यवस्था गरिने भएको छ । साथै यस मोर्चाले प्रदेश सभा खारेज गर्ने र प्रशासनिक राजधानी कायम गर्ने भएकोे छ ।
त्यस्तै समानुपातिक व्यवस्थाको पद्धतिमा हेरफेर गरेर वर्गीय आधारमा समानुपातिक प्रणाली लागू गर्ने र नयाँ शासकीय स्वरूप अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, १६५ प्रत्यक्ष निर्वाचित सांसदहरू र ७७ सदस्यीय राष्ट्रिय सभा रहने छ ।
न्यायिक सुधार अन्तर्गत न्याय परिषद् खारेजी, अदालतमा समय सीमा (जिल्ला – ५ वर्ष, उच्च – ३ वर्ष, सर्वोच्च – २ वर्ष) अनिवार्य गरिने छ । साथै भ्रष्टाचारमाथि कठोर नियन्त्रण अन्तर्गत नगद भ्रष्टाचार, कानुनी भ्रष्टाचार र संस्थागत भ्रष्टाचारको जरो उखेल्ने लगायतका विशेषता उनको मोर्चाको रहेको बताएका छन् ।
साथै अन्तर्राष्ट्रिय चन्दा, ऋण, अनुदानमाथि निगरानी अन्तर्गत दातृ निकायहरूलाई सिधा रिपोर्ट गरी भ्रष्टाचारमा लगाम लगाउने र अख्तियार, सीआईबी तथा अन्य निकायलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने उनले बताएका छन् । उनको यस अभियानमा मानिसहरु देशका विभिन्न स्थानबाट समावेश भइरहेका छन् ।













