नेपाल बीमा प्राधिकरणद्वारा ग्लोबल मनी विकको अवसरमा आयोजित प्रभातफेरी सम्पन्न

काठमाडौं । ग्लोबल मनी विक २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँ गाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनी विक, २०२५ मनाउने क्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई शुरूदेखि नै जानकारी दिनुपर्ने बताए ।
समाजमा हरेकस्तरमा वित्तीय साक्षरता तथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायहरूबीच सहकार्यको आवश्यकता समेत उनीहरूले औंल्याए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीहरूका साथै नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसन लगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।













