चन्द्रागिरी हिल्सले उठाउँदै आएको प्रवेश शुल्क तत्काल बन्द गर्न इन्द्रसरोवर गाउँपालिकाको निर्देशन

काठमाडौं । चन्द्रागिरी हिल्सले पैदल यात्रीसँग प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क उठाउने कार्य तत्काल बन्द गर्न मकवानपुरको अर्को स्थानीय सरकारले समेत निर्देशन दिएको छ ।
इन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयका अध्यक्ष दुतराज तितुङले हिजो एक सूचना जारी गर्दै चद्रागिरी हिल्सलाई पैदलयात्रुसँग कुनै प्रकारको शुल्क उठाउन अनुमति नदिएको र त्यसरी शुल्क उठाउने कार्य गैर कानुनी समेत भएको स्पष्ट पार्दैै उक्त कार्य तत्काल रोक्न निर्देशन समेत दिइएको छ ।
चन्द्रागिरी डाँडा र भालेश्वर मन्दिर काठमाडौंको चन्द्रागिरी नगरपालिका र मकवानपुरका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सीमामा पर्दछ । उक्त डाँडाको दक्षिण पूर्वतर्फ इन्द्रसरोवर गाउँपालिकाको ५ नं वडाको सीमा पर्दछ भने दक्षिण पश्चिम तर्फ थाहा नगरपालिकाको सीमाना पर्द छ । साथै उत्तरतर्फ पानीढलो काठमाडौं जिल्ला र चन्द्रागिरी नगरपालिकाको सीमा पर्दछ ।
मकवानपुरका दुई स्थानीय सरकारले सूचनामार्फत शुल्क उठाउने कार्य बन्द गर्न निर्देशन दिएको भएपनि काठमाडौंको चन्द्रागिरी नगरपालिको भने अहिलेसम्म कुनै पनि सूचना निकालेको छैन । काठमाडौंतर्फका चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी थानकोट क्षेत्रमा चन्द्रागिरी हिल्ससँग मिलेर सेटिङ गर्ने र कमिशन खाने गरेको भन्दै विवादमा परेका मेयर हुन् । चन्द्रागिरी हिल्सबारे काठमाडौंतर्फका स्थानीय सरकार कोही बोल्न सकेको छैन ।













