प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।
उक्त प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।
‘आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुद गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढावा दिई गुणस्तरीय, चुस्त सेवाको नमूना विकास हुने,’ उनले उल्लेख गरेका छन् । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।













