बीमा बोर्ड नै अस्तब्यस्त छ, नजिकका अस्पताललाई मात्रै भुक्तानी गर्छः रामहरी खतिवडा

६ चैत्र २०८१, बुधबार १४:४५

काठमाडौँ ।  संसदमा सांसद रामहरी खतिवडाले स्वास्थ्य बीमाको असन्तोषजनक स्थितिको बारेमा कुरा गर्दै विकट र विपन्न नागरिकको उपचारमा सुधार ल्याउनका लागि सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा.सुनिल शर्माले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य सेवामा अहिले गम्भीर अनियमितताहरू छन्, नागरिकलाई विदेशमा उपचार गर्न जाँदा राज्यको करोडौं पैसा खर्च गर्नुपर्छ, जसको विरोध भइरहेको छ। २०४६ सालदेखि राज्यले नागरिकको स्वास्थ्य उपचारमा करोडौं खर्च गर्दै आएको छ।’

उनले स्वास्थ्य बीमा पद्धतीको अवस्था बारे पनि गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘स्वास्थ्य बीमामा १ लाखको बीमा गरिएको छ तर त्यसको उचित व्यवस्थापन छैन। बीमा बोर्डमा पनि अनियमितताले काम गर्न गाह्रो बनाएको छ। केही अस्पताललाई भने तुरुन्त भुक्तानी दिइनुपर्ने भए पनि त्यो कार्य नगरी समस्याहरू सिर्जना भइरहेको छ।’

स्वास्थ्य सेवाको पहुँच र अनियमितता सन्दर्भमा रामहरी खतिवडाले ७५३ वटै स्थानिय तहका स्वास्थ्य चौकिमा डाक्टर, औषधि र बीमा सेवा प्रदान गर्ने व्यवस्था गरिनु पर्नेमा जोड दिए। उनले थपे, ‘बीमा सेवा केवल भाषणमा सीमित छैन, यो वास्तविकतामा पनि प्रभावकारी हुनुपर्छ।’

रामहरी खतिवडाले स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै, प्रत्येक नागरिक, विशेष गरी जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*