राताम्य बजारः फाइनान्स र जीवन बीमाका लगानीकर्ताले गुमाए सर्वाधिक, किन बढ्न सकेन ?

काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको क्रम जारी रहेको छ, जसले लगानीकर्ताको मनोबलमा पनि कमी ल्याएको छ । बैंक ब्याज दर अत्यधिक निचो स्तरमा पुगेको छ । आर्थिक सूचकहरु क्रमशः सशक्त हुँदै जानुका साथै सूचीकृत कम्पनीहरुले मुनाफा बढाउने संकेत दिएको छ । यद्यपि, बजार अझै माथि जान सकिरहेको छैन र समग्रमा साइडवेज ट्रेन्ड कायम छ ।
हालको स्थितिमा बजारमा प्यानिक सेल कम हुँदै गएको छ । कारोबार रकम पनि सुस्त भएको छ । सेयर मूल्यमा उतारचढाव भने खासै देखिएको छैन, जसले समग्र बजारलाई स्थिर बनाएको छ । यसले लगानीकर्तालाई जोखिमको मूल्यांकन गर्न अवसर दिएको छ तर दीर्घकालीन सुधारको लागि अझै केही समय लाग्न सक्छ ।
विश्लेषकहरुले बजारको गिरावटलाई प्राविधिक विश्लेषण र राजनीतिक अस्थिरताको परिणामका रुपमा व्याख्या गरेका छन् । हालको स्थितिमा उधारो कारोबारको वृद्धि र त्यसपछि प्यानिक विक्रीका कारण बजारमा थप सप्लाई भएको छ, जसले बजारको स्थिति केही कठिन बनाएको छ । यद्यपि, घटेको बजारले सस्तो मूल्यमा लगानीको अवसर प्रस्तुत गरेको छ। दिगो आर्थिक वृद्धि र अन्य लगानीका क्षेत्रहरुको सुस्त स्थितिका बीच, सेयर बजारमा सुधारको सम्भावना अझै कायम छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका कायम भएको छ । आज ३११ कम्पनीको ९५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भएको छ ।
यसदिन फाइनान्स समूह र जीवन बीमा समूहको शेयर मूल्य सर्वाधिक घटेको छ । बुधबार फाइनान्सको १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले शेयर मूल्य घटेकोछ । साथै, अन्य ७ उपसूचक समेत राताम्य भएका छन् ।
आज ५३ कम्पनीको शेयर मूल्य बढेपनि १८३ कम्पनीको मूल्य घटेको छ ।













