दोहोरो अकंले बढ्यो बजारः १३ वटै उपसूचकमा हरियाली, कारोबार भने खुम्चियो

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार अहिले साइडवेज अवस्थामा भए पनि लगानीकर्ताहरूको आशावाद कायमै देखिन्छ । मसान्तको दबाब हटेसँगै वैशाखबाट बजारमा केही राहत आउने अपेक्षा गरिएको छ । हाल बैंकको साँवा–ब्याज तिर्ने चटारो, करको दायित्व र गभर्नर नियुक्तिको पर्खाइले बजारलाई थोरै दबाबमा राखे पनि समग्र रुपमा बजारमा सकारात्मक संकेत देखिन थालेका छन् ।
बजारलाई बलियो बनाउने आधारहरु पनि अहिले सहयोगी देखिएका छन् । बैंक ब्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु शेयर बजारतर्फ आकर्षित हुने प्रवृत्ति यसपटक पनि देखिएको छ । वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेको र बैंकहरूले शेयर धितो कर्जालाई प्राथमिकता दिइरहेका कारण लगानीकर्ताहरू सस्तो ब्याजदरमा कर्जा लिएर बजारमा प्रवेश गरिरहेका छन् ।
साथै, धेरै कम्पनीको मूल्य अझै सस्तो अवस्थामा रहेकाले सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्न यो उपयुक्त समय भएको विज्ञहरूको धारणा छ, जसले बजारलाई थप ऊर्जा दिने अपेक्षा गर्न सकिन्छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले बढेर २६८०.५२ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।












