जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

२७ चैत्र २०८१, बुधबार १६:४२

काठमाडौँ ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २७ गते संस्थाको स्थापना दिवसको अवसरमा १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ। संस्थाको बुटवल शाखाको आयोजनामा एसियन पार्टी प्यालेस, बुटवलमा सम्पन्न समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरूको लागि आयोजित प्रशिक्षण कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर विश्वकर्माले गरेका थिए।

कार्यक्रममा अध्यक्ष विश्वकर्माले विगत १५ वर्षको निरन्तर यात्रामा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक तथा सर्वसाधारण शेयरधनी, शुभेच्छुक, कर्मचारी र व्यवसायिक साझेदार संस्थाहरूको योगदान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलबीच लघुवित्त, सामुदायिक वित्त, उद्यमशीलता र हरित विकास जस्ता क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको करियर निर्माणमा सहकार्य गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। यस सम्झौताबाट क्याम्पसका विद्यार्थीलाई लघुवित्तमार्फत रोजगारको अवसर, उद्यमशीलता र वित्तीय साक्षरतामा पहुँच विस्तार हुने विश्वास गरिएको छ।

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. तारा प्रसाद उपाध्यायले लघुवित्तले मुलुकको आर्थिक समावेशीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै सीप र प्रविधिको संयोजनमा आधारित ज्ञानमूलक उपलब्धिमा जोड दिनुपर्ने बताए। कार्यक्रममा सयुक्त बचत केन्द्र बुटवल–११ समूहकी उपप्रमुख अनिता विश्वकर्माले बिनाधितो र सामान्य ब्याजदरमा ऋण पाएको अनुभव सुनाउँदै लघुवित्तको सहयोगले आफू उद्यमी बन्न सक्षम भएको बताइन्।

कार्यक्रममा अध्यक्ष बिक तथा प्रशिक्षक यज्ञ विक्रम शाहीले सहभागीहरूलाई लघुवित्तसम्बन्धी जानकारीमूलक प्रशिक्षण दिएका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले संस्थाको सेवा, सुविधा तथा कार्यक्षेत्रबारे जानकारी गराएका थिए। पूर्व अध्यक्ष बाबुराम विश्वकर्माले लघुवित्तबाट लिइएको ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ‘ऋण तिर्नु पर्दैन’ भन्ने भ्रामक हल्लाको पछि नलाग्न र स्वावलम्बी बन्न प्रेरित गरे।

१५औं वार्षिकोत्सवको अवसरमा संस्थाले ३९ वटा शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको छ। बिउ विजन वितरण, रक्तदान कार्यक्रम, सरसफाइ तथा डस्टबिन वितरण, खाद्यान्न वितरण, खेलकुद सामग्री, शैक्षिक तथा राहत सामग्री वितरण, मन्दिर परिसर सरसफाइ, ग्राहक अन्तरक्रिया, मानव सेवा आश्रममा पंखा र झुल वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू मार्फत संस्था सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको देखिएको छ।

जनउत्थान लघुवित्त वित्तीय संस्थाले हालसम्म पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका ११ वटा तराई जिल्ला र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत करिब ५९ हजार ९८३ जना सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्दै आएको छ। ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस संस्थाले सीपमूलक तालिम, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व सम्बन्धी सेवाहरू निरन्तर प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रायले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*