भारतमा निर्यात ७७% घटेपछि नारायणी आयलको आम्दानी २ अर्ब घट्यो, अधिकांश सूचक धरापमा

काठमाडौँ । नेपाली बजारमा ७ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने नारायणी आयल रिफाइनरी उद्योगको आर्थिक अवस्था पछिल्ला केही वर्षदेखि निराशाजनक बन्दै गएको छ । करिब तीन दशकदेखि सञ्चालनमा रहेको यो कम्पनी बाराको लिपनिमलस्थित उद्योगमार्फत सोयाबिन, तोरी, पाम, वनस्पति, सुर्यमुखी आदिजस्ता खाद्य तेलहरूको प्रशोधन र बिक्री गर्दै आएको छ । कम्पनीले त्रिशक्ति, स्माइल, आरोग्य, श्री, नीलमणि, कुन्दन र नीलकमल जस्ता ब्रान्डमार्फत तेल बजारमा ल्याउँदै आएको भए पनि वित्तीय सूचकहरूले यसको अवस्था लगातार कमजोर हुँदै गएको हो ।
पछिल्ला तीन आर्थिक वर्षको विश्लेषण गर्दा कम्पनीको कारोबार लगातार घटिरहेको छ । वर्ष दिनमा कम्पनीको २ अर्बको व्यापार घटेको छ । आ.व. २०७८/७९ मा १० अर्ब ९४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले २०७९/८० मा ६ अर्ब ४१ करोड रुपैयाँमा खुम्चिएको देखिन्छ । २०८०/८१ को अन्तिम लेखापरीक्षण हुन बाँकी अवस्था अनुसार भने झन् आम्दानी झरेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ । यस्तो गिरावटले बजारमा कम्पनीको प्रभाव घट्दै गएको र प्रतिस्पर्धामा पिछडिँदै गएको देखिएको छ ।
सञ्चालन नाफा मार्जिन पनि चिन्ताजनक रूपमा घटेको छ । २०७८/७९ मा ६.४७ प्रतिशत नाफा मार्जिन रहेको कम्पनीले त्यसपछिको वर्ष नाफा भन्दा पनि घाटा व्यहोरेको देखिन्छ । पछिल्लो वर्ष १.९१ प्रतिशत जति नाफा देखिए पनि त्यो पनि न्यून र अस्थिर मानिन्छ । यसबाट कम्पनीको उत्पादन लागत बढेको र सञ्चालन खर्च नियन्त्रणबाहिर गएको देखिएको छ।
अर्कोतर्फ, कम्पनीको ऋणभार अत्यधिक बढेको छ । गियरिङ अनुपात २०७८/७९ मा ०.७८ रहेकोमा २०७९/८० मा बढेर ३.०१ र पछिल्लो वर्ष ३.८१ पुगेको छ, जुन कम्पनीले आफ्नो पूँजीको तुलनामा धेरै ऋण लिएको स्थिति हो । यसले कम्पनीलाई भविष्यमा ऋण तिर्ने वा थप लगानी जुटाउन समेत कठिनाइ हुने देखिएको छ । ब्याज तिर्ने कम्पनीको क्षमता पनि कमजोर बन्दै गएको छ । सन् २०७८/७९ मा कम्पनीले ब्याज सजिलै तिर्नसक्ने अवस्था देखिएको भए पनि २०७९/८० मा त ब्याज तिर्नसमेत घाटा व्यहोर्नु परेको देखिन्छ। २०८०/८१ मा पनि यो अनुपात ०.४० मा सीमित छ ।
साथै, कम्पनीको तत्काल दायित्व तिर्न सक्ने क्षमता समेत कमजोर हुँदै गएको छ । करन्ट रेसियो २०७८/७९ मा १.८३ रहेकोमा २०८०/८१ मा १.३ मा झरेको छ । सबैभन्दा खतरनाक अवस्था भने कम्पनीको नगद प्रवाहमा देखिएको छ । कुल ऋण र नगद आर्जनको अनुपात पछिल्ला दुई आ.व.मा पूर्ण रूपमा नकारात्मक रहेको छ ।
यी सबै सूचकांकहरू हेर्दा नारायणी आयल रिफाइनरी उद्योग हाल गम्भीर वित्तीय संकटमा परेको छ । चाचन फ्यामिलि ग्रुपद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।
ग्रुपले तेल प्रशोधनसँगै सिमेन्ट उत्पादन तथा रासायनिक मल क्षेत्रमा व्यापार गर्दै आएको छ । ६ जनाको सञ्चालक समिति रहेको कम्पनीको सम्पूर्ण व्यापार निखिल चचनले गर्दै आएको छ । निखिल चचन विगत ७ वर्षदेखि कम्पनीको निर्देशक छन् । देशभर होलसेल पसल, इटहरी र पोखरामा डिपो रहेको कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा बिक्री गर्नुका साथै निर्यात पनि गर्दै आएको छ । कम्पनीले विशेषगरी पश्चिम बंगाल, उत्तर प्रदेश, राजस्थान र दिल्लीमा तेल निर्यात गर्दै आएको छ । तर, भारतमा निर्यात ७७ प्रतिशतले घट्दा कम्पनी धरासयी बन्न पुगेको छ ।
भारत सरकारले सोयाबीन, सुनफ्लावर र पाम ओलिन तेलमा आयात महसुल घटाउने नीतिगत निर्णय गरेपछि त्यहाँ निर्यात गर्न चुनौतीपूर्ण बनेको थियो । परिणामस्वरूप, कम्पनीले यो वर्ष अधिकांश उत्पादन नेपाली बजारमै बेचेको छ । विशेष गरी भारतमा लागू भईरहेका आयात कर, गैर–टैरिफ अवरोध, गुणस्तर मापदण्ड, अन्तर्राष्ट्रिय भाडा दरलगायतका नीतिहरूले कम्पनी को निर्यात व्यवसायमा ठुलो असर गरेको छ ।













