छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन, दैनिक ६०० क्विन्टल उत्पादनको तयारी

५ बैशाख २०८२, शुक्रबार ११:३४

काठमाडौँ ।  लामो समयदेखि ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगले करिब छ महिनापछि फेरि सञ्चालनको बाटो समातेको छ। उद्योगका यन्त्रहरूको मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारदेखि चुनढुङ्गा तयारी कार्य सुरु भएको हो।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अब केही दिनभित्रै सिमेन्ट उत्पादन औपचारिकरूपमा प्रारम्भ हुनेछ। प्रारम्भिक चरणमा दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको कर्णले जानकारी दिए। यद्यपि, २०३३ सालमा जडान गरिएका उपकरणहरू अहिले निकै जीर्ण अवस्थामा रहेकाले उत्पादन निरन्तरतामा चुनौतीहरू कायमै रहेको छ।

विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल र कर्मचारी पारिश्रमिकको जोहोमा नै कठिनाइ भोगिरहेका बेला नयाँ उपकरण खरिदको कुरा अझै टाढाको विषय भएको कर्णको भनाइ छ। तथापि, सरकारले समस्या समाधानमा सहयोग पुर्‍याउने अपेक्षा उनले व्यक्त गरेका छन्। लामो समयदेखि समस्यामा रहेको यो सरकारी स्वामित्वको उद्योग सञ्चालनमा आएसँगै स्थानीयवासीमा आशा पलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*