एक मात्र इमान्दार मन्त्री पनि बाहिरिईन्, मन्त्रिपरिषदभित्र मैनबत्ति बाल्ने कि ?

समाचार टिप्पणी
आफ्नो मन्त्रिपरिषदका एक मात्र मन्त्री समेत बाहिरिएपछि प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न उब्जिएको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा दलाल, बिचौलिया, भ्रष्टाचारी र नीतिगत सेटिङ गर्न सक्ने व्यक्ति मात्रै मन्त्री बन्न सक्ने हुन् ? भन्ने प्रश्न सामाजिक सञ्जालमा फैलिएको छ ।
हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजिनामा दिएसँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डल, इमान्दार, नैतिकवान व्यक्ति विहिन हुन पुगेको छ । मन्त्रिमण्डलमा सबै मन्त्रीहरु कुनै न कुनै काण्ड, सेटिङमा आरोप लागेका र मिडियामा समाचार बनिरहेका व्यक्तिहरु सहभागी छन् ।
पूर्व पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई राजनीतिमा आउनुअघि प्राध्यापन पेशामा आबद्ध थिईन् । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गरिरहेकै बेला पाथिभरामा हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएको थियो । त्यस लगत्तै रिक्त भएको कास्की–२ मा भएको उप निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेकी थिईन् । दोस्रो पटक निर्वाचित भएपछि ओली नेतृत्वको सरकारले भट्टराईलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई
शिक्षा मन्त्री भट्टराईले त्रिविको कूलपति नियुक्तीमा भागबण्डा र सेटिङ भत्काउँदै सक्षम व्यक्ति नियुक्त गरेकोमा कांग्रेस र एमालेको पेलाईमा परेर नयाँ नियुक्त भएका उप कूलपतिले छोटो समयमा नै राजिनामा दिएका थिए । स्रोतका अनुसार प्रम ओलीका मान्छेहरुको पेलानमा परेर उपकूलपति प्रा.डा. केशरजंग बरालले गत चैत्र १६ गते राजिनामा दिइसकेका छन् । अहिले कामु उपकूलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई दिइएको अवस्था छ ।
सडकमा जारी शिक्षकहरुको आन्दोलनबारे समस्या समाधान गर्न सरकार तयार नहुने र दलीय स्वार्थमा अल्झिएर बस्ने समस्याका कारण उनीहरुको माग पुरा हुन सकिरहेको छैन । प्रधानमन्त्री ओलीले शिक्षकहरुको माग पुरा गराउन शिक्षा मन्त्रीलाई दवाव दिने तर अन्य मन्त्रीहरुले चासो नदिने परिपाटीले समस्या समाधान नहुने र कक्षा १२ को परिक्षा नजिकै आइसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईले नैतिकताको आधारमा पदबाट राजिनामा दिएकी हुन् । यद्यपि मन्त्री भट्टराईले राजिनामा पत्रमा स्वास्थ्यका कारण पदबाट राजिनामा दिएको उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्री ओली नेतृत्वको मन्त्री मण्डलका एक मात्र इमान्दार र नैतिकता बुझेकी मन्त्रीले नै पदबाट राजिनामा दिएपछि मन्त्रिपरिषदभित्र नैतिकता र इमान्दारिता अब मैन बत्ति बालेर खोज्नुपर्ने बेला आएको छ । होइन त ?













