विजय लघुवित्तद्वारा रोल्पामा करीब २०० जनालाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोल्पाको परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिका–०३ स्थित खुमेलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैशाख ६ र ८ गते दुई दिनसम्म चलेको कार्यक्रममा करीब २०० जना स्थानीय सहभागी भएका थिए।
ग्रामीण ठाउँमा वित्तीय जानकारीको पहुँच कम हुने भएकाले समुदायलाई बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको प्रशिक्षण विजय लघुवित्तका अनुगमन अधिकृत तथा क्लस्टर नम्बर १५ का प्रमुख कुम बहादुर थापाले दिएका थिए। उनले सहभागीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा–सुविधा, कर्जा, बचत, विप्रेषण, बीमा, डिजिटल कारोबार र वित्तीय अनुशासनका बारेमा जानकारी गराएका थिए। साथै योजना बिना कर्जा लिँदा त्यसले पार्ने असर, कालोसूचीमा पर्ने जोखिम र त्यसबाट जीवनमा आउन सक्ने झमेलाबारे पनि प्रष्ट पारेका थिए।
कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर र खुमेलतर्फ रोल्पा नगरपालिका–०३ का कार्यबाहक वडाध्यक्ष लिला बहादुर रोका थिए। कार्यक्रममा उद्योग वाणिज्य महासंघका प्रतिनिधि, विद्यालय प्रमुख, सुरक्षा निकायका व्यक्तिहरू र अन्य स्थानीय प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै अतिथिहरूले गाउँमा यस्तो कार्यक्रमले आम नागरिकलाई वित्तीय कुरामा सचेत बनाउने र आर्थिक कारोबार गर्न सिकाउने बताउँदै अब जथाभावी ऋण लिएर खर्च गर्ने बानी त्याग्नुपर्ने बताए। आफूले लिएको ऋण त्यसैको लागि प्रयोग गर्न, अनावश्यक खर्च कटौती गर्न र जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा बोल्दै परिवर्तन गाउँपालिकाका संयोजक प्रेम कुमार बुढा मगरले ऋण लिएर पनि त्यस अनुसार काम नगर्ने हो भने १५% को सट्टा ५% ब्याजमै कर्जा लिए पनि फाइदा नहुने बताए। ऋण लिएपछि त्यसलाई सही ठाउँमा लगानी गर्न सकेमात्र जीवनमा परिवर्तन आउँछ भन्दै उनले आफैंको उदाहरण पनि प्रस्तुत गरे।
विजय लघुवित्तको रोल्पामा दुई वटा शाखा छन् र ती शाखामार्फत करीब २०० जनालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको हो। संस्थाले यस्ता कार्यक्रमले गाउँमा आर्थिक सचेतना फैलाउन सहयोग गर्ने विश्वास लिएको जनाएको छ।












