क्यानडामा बनेका कारहरूमा २५ प्रतिशत शुल्क अझ बढ्न ट्रम्पको चेतावनी
११ बैशाख २०८२, बिहीबार १३:५९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कारमाथि हाल लागू २५ प्रतिशत आयात शुल्क अझ बढ्न सक्ने संकेत दिएका छन्।
बुधबार पत्रकारहरूसँगको कुराकानीमा बोल्दै ट्रम्पले यसबारे खुलेर आफ्नो धारणा राखे। उनका अनुसार, अहिले क्यानडीयन गाडीहरूले २५ प्रतिशत शुल्क तिरिरहेका छन् तर निकट भविष्यमै त्यो दर अझ चर्किन सक्छ।
“हामी विदेशी कारमा आश्रित रहन चाहँदैनौं, बरु आफ्नै गाडीहरू उत्पादन गर्न चाहन्छौं,” ट्रम्पले भने। उनले अमेरिकी उद्योगको सुदृढीकरणमा जोड दिँदै घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए।
ट्रम्पको पछिल्लो भनाइले उनको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेशी व्यापारमा थप कडाइ ल्याउने संकेत दिएको छ। यो धारणा विशेष गरी क्यानडासँगको व्यापारिक सम्बन्धमा असर पार्ने अनुमान गरिएको छ।













