बजार विस्तार गर्दै अग्रवालको स्मार्ट डोर्सः वर्षदिनमा साढे २ करोडको व्यापार, ३ करोडको आइपीओ प्रस्ताव

काठमाडौँ । ढोका निर्माणको क्षेत्रमा स्थापित भइसकेको कम्पनी स्मार्ट डोर्स लिमिटेडले छोटो समयमा प्रभावशाली सफलता हात पार्दै एक वर्षमै साढे दुई करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालको कम्पनीले सन् २०२४ मा मात्रै २ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको केयर रेटिङ्स नेपालको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५ लाख रुपैयाँले बढी हो ।
स्मार्ट डोर्स लिमिटेडले सन् २०२१ अक्टोबर ११ मा स्थापना भई हाल काठमाडौँको टोखामा अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रमार्फत दैनिक ६ सयवटा ढोका उत्पादन गर्ने क्षमतासहित सञ्चालन गरिरहेको छ । ग्राहकको आवश्यकता अनुसार ढोका परिमार्जन गर्न सक्ने विशेष सेवा, काठमाडौं उपत्यकाभित्र रहेका ४२ थोक विक्रेतामार्फत वितरण गर्ने सञ्जाल तथा खुद्रा ग्राहकलाई प्रत्यक्ष बिक्री गर्ने अवसरले कम्पनीलाई प्रतिस्पर्धी बजारमा अग्रस्थानमा पुर्याएको छ । अन्य खुद्रा विक्रेताहरूभन्दा फरक व्यवसायिक ढाँचाले कम्पनीलाई उल्लेखनीय लाभ पुर्याएको देखिन्छ ।
कम्पनीको वित्तीय सूचकहरू समेत अत्यन्त सकारात्मक देखिएका छन् । २०८१ असार मसान्तसम्म कम्पनीले कुनै ऋण नलिएको अवस्था रहँदा पनि प्रवर्धकहरूले गरेको पुँजी ८ करोड २० लाख रुपैयाँबाट बढेर २७ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसको गियरिंग अनुपात ०.०१ मात्र रहेको छ, जसले वित्तीय संरचना बलियो र दीर्घकालीन रूपमा सुरक्षित रहेको संकेत गर्दछ । ब्याज कभर अनुपात २९.१२ गुणा, पिबिआईएलडिटि मार्जिन २७.०९ प्रतिशत र वर्तमान अनुपात १७.९० गुणा पुगेको तथ्यांकले कम्पनीको सुदृढता स्पष्ट गरेको छ ।
व्यवस्थापन पक्षमा पनि कम्पनी सक्षम देखिन्छ । अध्यक्ष मिता मुरारका अग्रवालसँग पाँच वर्षभन्दा बढी व्यवसायिक अनुभव छ । उनी हाल सानिमा जनरल इन्स्योरेन्स लिमिटेडकी निर्देशकको रूपमा कार्यरत छिन् भने अघिल्लो कार्यकालमा दक्षिणकाली काष्ठ उद्योगमा संलग्न थिइन् । निर्देशक नीलम बोहरा तिरुपति उड प्यानल इन्डस्ट्रीजमा काम गरिसकेकी छिन् र हाल गोर्खाज फाइनान्स लिमिटेडमा निर्देशकको रूपमा संलग्न छिन् । यस्तै, अनुभवी व्यवस्थापन टिमले कम्पनीको दैनिकीलाई प्रभावकारी रूपमा अघि बढाइरहेका छन् ।
स्मार्ट डोर्स लिमिटेडले १०० रुपैयाँ अंकित दरमा ३ लाख ६ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव बुझाइसकेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । स्मार्टले ‘केयर एनपी बीबी माइन’ रेटिङ पुनः पुष्टि गराएको छ । यो रेटिङ प्राप्त गर्ने इस्युअरहरुलाई वित्तीय दायित्वहरु समयमा पूरा गर्न मध्यम जोखिमयुक्त मानिन्छ ।
छोटो अवधिमा तीव्र व्यवसायिक उन्नति, सशक्त व्यवस्थापन, उत्कृष्ट वित्तीय संरचना र भविष्यप्रति स्पष्ट दृष्टिकोणसहित स्मार्ट डोर्स नेपालको निर्माण उद्योगमा स्थायित्व र विश्वासको प्रतीक बन्दै गएको छ ।













