बजारमा विजयश्री स्टीलको दबदबा: वर्षदिनमा गर्‍यो साढे ५ अर्बको व्यापार, उत्पादन क्षमतामा अभिवृद्धि

१४ बैशाख २०८२, आईतवार ११:२५

काठमाडौँ । नेपालको इस्पात उद्योगमा उल्लेखनीय पहिचान बनाएको विजयश्री स्टील प्रा.लि. निरन्तर प्रगतिको यात्रामा अघि बढिरहेको छ। कपिलवस्तुको शिवराज-बिरपुर क्षेत्रमा सन् २०१७ फेब्रुअरीमा स्थापना भएको कम्पनीले हालसम्म आफ्नो व्यवसायिक क्षितिज विस्तार गर्दै प्रतिस्पर्धी बजारमा प्रभावशाली उपस्थिति जनाइरहेको छ। वार्षिक १ लाख ३२ हजार मेट्रिक टन बिलेट तथा १ लाख २४ हजार मेट्रिक टन टीएमटी उत्पादन क्षमताका साथ सञ्चालनमा रहेको कम्पनीले समयानुकूल प्रविधि र दक्षता समावेश गर्दै उत्पादन वृद्धि तथा गुणस्तर सुधारमा विशेष ध्यान दिएको छ।

सन् २०२३ फेब्रुअरीमा स्थापन गरिएको कन्टिन्युअस कास्टिङ मेसिन प्लान्टमार्फत विजयश्री स्टीलले पूर्णतः उध्र्वाधर एकीकरणमा प्रवेश गरेको छ। आन्तरिक रुपमा बिलेट उत्पादन थाल्न सफल भएकाले लागतमा उल्लेखनीय सुधार आएको छ र प्रतिस्पर्धात्मकता अझ मजबुत बनाएको छ। कच्चा पदार्थ आपूर्तिको सन्दर्भमा कम्पनीले भारतबाट स्पन्ज आइरन तथा पिग आइरन आयात गर्नुका साथै आन्तरिक बजारबाट स्क्र्याप संकलन गर्दै स्रोतको सन्तुलित प्रयोग गरेको छ। यस संयोजनले आपूर्ति सुनिश्चिततासँगै खर्च नियन्त्रणमा टेवा पु¥याएको छ।

वित्तीय सूचकहरू अध्ययन गर्दा कम्पनीको व्यावसायिक स्वास्थ्य सुदृढ हुँदै गएको देखिन्छ। सन् २०२२ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी सन् २०२३ मा उत्पादन अवरोधका कारण केही घटेर ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँमा सीमित भए पनि सन् २०२४ मा प्रभावशाली सुधार गर्दै ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

इबीआईटीडीए मार्जिनमा समेत सुधार आएको छ। सन् २०२२ मा ०.९४ प्रतिशत रहेको यो दर सन् २०२३ मा ५.४२ प्रतिशतमा पुगेको र सन् २०२४ मा ४.६३ प्रतिशत कायम भएको छ। चालू वर्षको पहिलो छ महिनामा ७.०६ प्रतिशत पुगेर कम्पनीको सञ्चालन क्षमता सशक्त बनेको छ।

ब्याज कभरेज अनुपातले वित्तीय अनुशासन मजबुत बनिरहेको देखिन्छ। सन् २०२२ मा ०.५३ गुणा रहेको अनुपात सन् २०२३ मा १.३३ गुणा र सन् २०२४ मा २.४४ गुणामा पुगेको छ। चालु अनुपात क्रमिक सुधार हुँदै सन् २०२२ मा ०.७८ गुणाबाट सन् २०२४ मा ०.९० गुणामा पुगेको छ।

कुल ऋण–इबीआईटीडीए अनुपात पनि सुधारिएको छ। सन् २०२२ मा ३६.७६ गुणा रहेको अनुपात सन् २०२३ मा घटेर १६.२२ गुणा र सन् २०२४ मा झनै घटेर १३.७० गुणामा झरेको छ। गियरिङ अनुपातका दृष्टिले कम्पनीले सन्तुलन कायम राख्न प्रयत्न जारी राखेको देखिन्छ। सन् २०२२ मा २.३१ गुणा रहेको गियरिङ अनुपात सन् २०२३ मा ३.७४ गुणा र सन् २०२४ मा ३.५५ गुणामा रहेको छ।

उत्पादन प्रक्रियामा सतत सुधार र पछाडि एकीकरणको सफल कार्यान्वयनले विजयश्री स्टीललाई उल्लेखनीय लाभ मिलेको छ। कन्टिन्युअस कास्टिङ मेसिन स्थापनाले आन्तरिक स्रोतबाट बिलेट उत्पादन सम्भव भएको र महत्वपूर्ण लागत दक्षता हासिल गर्दै दीर्घकालीन स्थायित्वमा टेवा पु¥याएको छ। कपिलवस्तुको शिवराजस्थित उत्पादन केन्द्र भारतको बरहनी नाकाबाट करिब १५ किलोमिटर र सुनौली नाकाबाट करिब ८० किलोमिटरको दूरीमा अवस्थित छ। यस्तो रणनीतिक स्थानले कच्चा पदार्थ सस्तो र छिटो आपूर्ति गर्न सम्भव बनाएको छ।

नेपालको पूर्व–पश्चिम राजमार्गको नजिक रहेका कारण कम्पनीले मध्य र पश्चिमी क्षेत्रका बजारमा सहज वितरण गर्न सफल भएको छ। यी क्षेत्रहरूमा घरेलु इस्पात आपूर्ति अझै सीमित रहेको सन्दर्भमा कम्पनीका लागि थप अवसरहरू सिर्जना भएका छन्। सन् २०२३ मा कन्टिन्युअस कास्टिङ मेसिन जडानका क्रममा भएको उत्पादन अवरोधले आम्दानीमा करिब २४ प्रतिशत गिरावट आएको भए पनि सन् २०२४ मा प्रभावशाली सुधार गर्दै आम्दानी करिब ५८ प्रतिशतले वृद्धि गरेको छ।

विजयश्री स्टीलले विशेषगरी फेब्रुअरीदेखि जुनसम्मको व्यवसायिक सिजनमा राम्रो प्रदर्शन गर्दै आएको छ। आगामी वर्षहरूमा पनि यो अवधिको प्रदर्शनलाई नजिकबाट अवलोकन गर्ने रणनीति अवलम्बन गर्ने तयारी कम्पनीले गरेको छ। सन् २०२५ अप्रिलमा कम्पनीले आफ्नो वित्तीय मजबुतीलाई औपचारिक रूपमा पुष्टि गर्दै प्रतिष्ठित क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट सकारात्मक मूल्याङ्कन प्राप्त गरेको छ।

इन्फोमेरिक्स नेपालले विजयश्री स्टीलका दीर्घकालीन बैंक सुविधाहरूका लागि आईआरएन बीबी– (डबल बी माइनस) रेटिङ र अल्पकालीन बैंक सुविधाहरूका लागि आईआरएन ए४ (ए फोर) रेटिङ प्रदान गरेको छ। रेटिङ गरिएका कुल बैंक सुविधाहरूको आकार ५,१०२.५५ लाख रुपैयाँ बराबर रहेको छ।

इन्फोमेरिक्स नेपालले कम्पनीको पछिल्लो समय देखिएको सञ्चालन सुधार, लागत नियन्त्रण क्षमता, बजार पहुँच विस्तार तथा व्यवस्थापन अनुभवलाई उच्च मूल्याङ्कन गर्दै उक्त रेटिङ प्रदान गरेको जनाएको छ। यो सकारात्मक मूल्याङ्कनले विजयश्री स्टीलको वित्तीय विश्वसनीयता र भविष्यका विकास योजनामा थप विश्वास जगाएको छ। कम्पनीले यस अवसरलाई थप सुदृढीकरण गर्दै आफ्नो व्यवसायिक रणनीतिहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

अर्कोतर्फ, कम्पनीले वातावरणीय तथा सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ। उत्पादन प्रक्रियामा स्वच्छ प्रविधिको प्रयोग गर्दै तथा सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै सकारात्मक प्रभाव विस्तार गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*