जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धी समसामयिक विषयमा आयोजित सेमिनार सम्पन्न

१४ बैशाख २०८२, आईतवार १४:०७

काठमाडौं । विराटनगरस्थित रुबिज इन होटलमा जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धी समसामयिक विषयहरूमा एक दिवसीय सेमिनार शनीवार सम्पन्न भएको छ।

नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन संघको आयोजना र निप्सको सहकार्यमा सम्पन्न कार्यक्रममा जीवन बीमा, निर्जिवन बीमा तथा लघु बीमा कम्पनीहरूबाट १६० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । सेमिनारको उद्घाटन सत्र निप्सका कोशी प्रदेश अध्यक्ष खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उद्घाटन नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुख विनोद पोखरेल, एनआईआरएमए अध्यक्ष डा. रविन्द्र घिमिरे, र निप्सको कोशी प्रदेश अध्यक्ष खड्ग बहादुर श्रेष्ठद्वारा संयुक्त रूपमा गरिएको छ । स्वागत मन्तव्य निप्सका उपाध्यक्ष प्रदीप बाबु तिवारीले तथा कार्यक्रम सञ्चालन सचिव श्री प्रकाश पोखरेलले गरेका थिए ।

कार्यक्रममा अतिथिको रूपमा नेपाल बीमा सर्भेयर संघका केन्द्रीय सदस्य ओमप्रकाश राठीले बीमा व्यवसायमा नैतिकता र नियमित तालीमको आवश्यकता औंल्याउँदै बीमा कर्मचारी र सर्वेक्षकहरूलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात् गर्न जोड दिए ।

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमहरूले गुणस्तरीय व्यवसाय अभिवृद्धि, नैतिक जोखिम न्यूनीकरण, र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्बीमा कम्पनी सधैँ कर्मचारीको क्षमता अभिवृद्धिमा तत्पर रहेको उल्लेख गरे ।

 कार्यक्रमका मुख्य उद्देश्यहरूमा बीमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे उन्नत प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधिहरू सिकाउनु, अन्तर्राष्ट्रिय अभ्यासहरू साझेदारी गर्नु, बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु समावेश थियो।

सेमीनार विभिन्न ५ सेसनहरु संचालन गरिएको थियो । डा. रविन्द्र घिमिरेले जोखिम व्यवस्थापन र बीमा क्षेत्रका समसामयिक विषयहरूमा प्रस्तुति दिए। उनले बीमा क्षेत्रमा व्याप्त नैतिक समस्या, सेवा स्तरमा सुधारको आवश्यकता, र नेपालमा बीमा उद्योगलाई विश्वसनीय बनाउने उपायहरूमा जोड दिए। बीमा कम्पनीका कर्मचारीहरूले उच्च इमानदारी, पारदर्शिता र अद्यावधिक ज्ञान राख्नुपर्ने बताउँदै उहाँले बीमा उद्योगलाई सामाजिक रूपमा मान्यता प्राप्त बनाउने अभियानमा सबैको उत्तरदायित्व रहेको बताए। साथै, बीमा व्यवसाय शुद्धिकरणमा कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै निरन्तर सिकाइको महत्त्वमाथि जोड दिए ।


बीमा बिज्ञ विनोद कुमार पोखरेलले कर्पोरेट सुशासन र बीमा सम्बन्धी कानुनी प्रावधानहरू विषयमा विस्तृत रुपमा प्रस्तुत गरे । उनले बीमा ऐन तथा नियमावलीअनुसार कर्मचारी, व्यवस्थापन तथा बोर्ड सदस्यहरूको अधिकार, कर्तव्य र दण्ड व्यवस्थाबारे चर्चा गरे। बीमा पोलिसी जारी गर्दा दररेट, निक्षेप पर्ची जाँच गरी मात्र बीमालेख जारी गर्नुपर्ने स्मरण गराउँदै, हरेक कर्मचारीले नियमको कार्यान्वयनमा समान जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख प्रबन्धक ईश्वर प्रधानले दाबी व्यवस्थापन र पुनर्बीमा अन्डरराइटिङ अभ्यास विषयमा प्रस्तुति दिए । उनले जोखिम स्वीकार्दा उचित अन्डरराइटिङ प्रक्रिया अपनाउनुपर्ने र दाबी दाबी गर्दा सत्यता परीक्षण अनिवार्य हुनुपर्नेमा जोड दिए ।

बीमा तथा जोखिम व्यवस्थापन विज्ञ उदयराज अधिकारीले नेपालको सन्दर्भमा जोखिम व्यवस्थापन र बीमा क्षेत्रको समस्या शीर्षकमा आफ्नो विचार राखे । उनले जोखिम पहिचान, मूल्यांकन र न्यूनीकरणमा नेपालका बीमा कम्पनीहरूबीच समन्वय र सुधारको खाँचो औंल्याए । बीमा कम्पनीका कर्मचारीहरूले केवल विक्रेता नभई जोखिम सल्लाहकारको भूमिका खेल्नुपर्ने र ग्राहकहरूको विश्वास जित्न पारदर्शिता र व्यावसायिक आचरणमा सुधार ल्याउनुपर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*