‘गभर्नरको मूल्य कति हो? राष्ट्र बैंकका कर्मचारीहरु पनि योगदान गरेको योग्य मान्छे चाहन्छन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवका अवसरमा कर्मचारी संगठनका प्रतिनिधिहरूले गभर्नर चयन प्रक्रिया र संस्थागत विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्तिमा भइरहेको राजनीतिक चलखेलप्रति आक्रोश पोख्दै गम्भीर प्रश्न उठाए, ‘गभर्नरको मूल्य कति हो?’ कर्मचारी संगठनका प्रतिनिधिहरूले राष्ट्र बैंकको मजबुत संरचना र आर्थिक अनुशासन जोगाउन कर्मचारीहरूको निरन्तर योगदान रहेको स्मरण गराउँदै भने, ‘हामी कर्मचारीहरू पनि योगदान गर्न तयार छौं, तर हामी योग्य गभर्नर चाहन्छौं।’
उनीहरूले नेतृत्व चयनमा चलखेल बढ्दै गएको भन्दै बजारमा अर्बौं रुपैयाँसम्मको चलखेल भइरहेको आशंका समेत व्यक्त गरे। कार्यक्रममा प्रतिनिधिहरूले हाल गभर्नर चयनको प्रक्रिया योग्यताको मापन नभई अयोग्यताको प्रतिस्पर्धामा परिणत हुन थालेको चेतावनी दिए।

बजारमा धेरै नामहरू चर्चा भइरहेकामा कतिपय नामहरू राष्ट्र बैंकको गरिमा र दीर्घकालीन स्थायित्वका लागि घातक हुन सक्ने आशंका व्यक्त गरियो। ‘हामीले सुनेका धेरै नामहरू योग्यताको सूचक होइनन्,’ प्रतिनिधिहरूले भने, ‘हामी गभर्नर पदमा राजनीतिक भागबण्डा होइन, राष्ट्र बैंकको दीर्घहित र मर्यादालाई अगाडि राख्नुपर्ने माग गर्छौं।’
त्यस्तै, राष्ट्र बैंक वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईलेले प्रश्न गरे, ‘कहिले सम्म राजनीतिक हस्तक्षेपले राष्ट्र बैंकको निर्णय प्रक्रिया थिचिने हो?’ संस्थागत सुधारका लागि कर्मचारीहरू निरन्तर योगदान गरिरहे पनि शीर्ष नेतृत्वमा हुने अनियमितता र हस्तक्षेपले समग्र वित्तीय प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि प्रतिनिधिहरूले दिए।
कार्यक्रममा उनीहरूले राष्ट्र बैंक जस्तो मुलुकको केन्द्रीय वित्तीय नियामक संस्थामा पारदर्शिता, इमानदारी र योग्यताको आधारमा मात्र गभर्नर नियुक्ति गर्न सरकार र सरोकारवालाहरूप्रति अपील गरेका थिए। राष्ट्र बैंक भित्रको कर्मशीलता र निष्ठालाई सम्मान गर्दै नेतृत्व चयनमा पनि सोही भावना झल्किनुपर्ने उनीहरूको जोड थियो।













