अल्फा बिजनेसलाई २ लाख जरिवाना, अन्य फर्महरूलाई कागजातसहित उपस्थित हुन निर्देशन

१४ बैशाख २०८२, आईतवार १८:४४

काठमाडौँ ।  नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज मिति २०८२ साल वैशाख १४ गतेका दिन विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ।

विभागका अनुसार अनुगमनको क्रममा अल्फा बिजनेस प्रा.लि., काठमाडौं महानगरपालिका–११ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै, होम फर्निसर्स प्रा.लि., लुगाघर कागेश्वरी मनोहरा नगरपालिका–९, ॐ सिद्धि ज्वेलर्स काठमाडौं महानगरपालिका–१३, आकाश फुड्स काठमाडौं महानगरपालिका–११, मार्फा ट्रेडिङ प्रा.लि. काठमाडौं महानगरपालिका–२४, जिरे खुर्सानी रेष्ट्रो मध्यपुर थिमी नगरपालिका–१, दुगड आइरन एण्ड स्टिल ट्रेडिङ कम्पनी प्रा.लि. काठमाडौं महानगरपालिका–११, र डि एण्ड डि अटो लिंक प्रा.लि. काठमाडौं महानगरपालिका–१२ लाई तीन दिन भित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसैगरी, चौलागा क्षेत्रमा रहेको एक व्यवसायीलाई भने सात दिन भित्र विभागमा हाजिर हुन सूचित गरिएको छ। विभागले अनुगमनका क्रममा देखिएका कमजोरीहरूको सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गरी ऐनको दफा ३९ को उपबन्द १ (ख) बमोजिम जरिवाना र निर्देशनात्मक कारवाही गरिएको जनाएको छ।

विभागले सबै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*